टोखाबाट वार्षिक ४ करोडको चाकु बिक्री

काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्र टोखा बजारका चाकु व्यवसायीलाई चाकु बनाउन तथा बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको छ ।

टोखाका चाकु व्यवसायीलाई माघे सङ्क्रान्ति पर्व आउन २ दिन बाँकी रहँदा सञ्चालित १४ उद्योगबाट चाकु उत्पादन तथा बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको बताएका छन् ।टोखा नगरपालिका वडा नं २ र ३ मा अहिले चाकु उत्पादन तथा बिक्री वितरण हुँदै आएको छ ।

टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरका नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा पनि बिक्री हुँदै आएको बताएका छन् । टोखामा उत्पादन हुने चाकुले नेपालको झण्डै ६० प्रतिशतभन्दा बढी मागको पूर्ति गर्दछ ।

टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ यहाँ उत्पादित चाकु जापान, अमेरिका र अष्ट्रेलियालगायतका देशमा समेत बिक्री वितरण हुँदै आएको बताए । टोखामा बर्सेनि झण्डै ५ लाख चाकु उत्पादन हुने गर्दछ । टोखा चाकुको प्रसिद्ध सहर हो । परम्परागत समयदेखि उखुबाटचाकुउत्पादन गरिने टोखामा उक्त व्यवसायलाई अहिलेसम्म पनि निरन्तरता दिइँदै आएको छ ।

टोखाका उद्योगमा हाल सादा चाकु, मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डु लगायत उत्पादन हुँदै आएका छन्।टोखामा उत्पादन भएको चाकु नेपालका विभिन्न सहरमा जाने भएकाले यसको माग व्यापक बढेको पाइन्छ

टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष श्रेष्ठ टोखाका सञ्चालित उद्योगले वार्षिक चाकु र उखुबाट बन्ने परिकार बिक्रीबाट करोेडौँ रुपैँया आम्दानी गर्छन् । उनका अनुसार टोखाको एक उद्योगले वार्षिक रु ३० लाखसम्म आम्दानी गर्छ । टोखाका १४ उद्योगले वार्षिक ३० लाखका दरले झण्डै ४ करोडभन्दा बढी रकम आम्दानी गर्दा टोखाको समग्र अर्थतन्त्रमा समेत योगदान पुगेको बताएका छन् ।

टोखा नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा यहाँ उत्पादन भएको चाकुलाई ब्राण्डिङ गर्ने घोषणा गरेमा थिए । नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत शङ्करराज पाठक टोखाको पहिचान चाकुले दिएकाले यसको ब्राण्डिङका लागि नगरपालिकाले विशेष योजना अगाडि सारेको बताए ।

टोखामा उत्पादन भएको चाकु अहिले प्रतिकिलो १ सय ३० देखि १ सय ३५ सम्म बिक्री हुँदै आएका छन् । नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । साथै नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ ।

चाकु खाँदा शरीरमा धेरै फाइदा हुनाका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता रहेको छ ।