सभामुख पदमा एमालेका देवराज घिमिरे निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा एमालेका उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित भएका छन् ।आजको बैठकमा उनलाई मतदान गर्ने पक्षमा १ सय ६७ मत खसेको थियो ।

उक्त प्रस्तावकको विपक्षमा एक सय मत खसेको थियो र मतदानमा २ सय ६८ले भाग लिएका थिए । एक जनाले मत नदिएको बताएका छन् ।

मतदान प्रक्रियापछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले मत विभाजनको नतिजाबारे जानकारी दिँदै सदनको हाल कायम सङ्ख्याको बहुमत प्राप्त गरेकाले घिमिरे सभामुखमा निर्वाचित भएको घोषणा गरेका छन् ।

घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हीतराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी रास्वपाका अध्यक्ष रवि लामिछाने रहेका थिए । न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् ।

एमालेका घिमिरेलाई सत्ता साझेदार एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्तवन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत राजनीतिक दल तथा केही स्वतन्त्र सांसदको समर्थन रहेको थियो ।

सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रतिनिधिसभाको पहिलो बैठक गत पुस २५ गते बसेको थियो ।