सम्पत्तिको लोभमा सौतेनी आमाद्धारा ८ वर्षीय छोराको हत्या , हत्याको योजनाकार उनकै बुवा

काठमाडौँ । सम्पत्तिको लोभमा सौतेनी आमाले ८ वर्षीय बालकको हत्या गरेको छ । डडेल्धुराको आलिताल गाउँपालिका–८ डाँडाखर्कका गजेन्द्र बोहराका ८ वर्षीय बालक भरतको हत्या घटनाका मुख्य योजनाकार उनकै बुवा गजेन्द्र रहेको स्थानीयको आरोप छ। घटनाका बखत उनी कामका लागि भारतको धार्चुलामा रहे पनि उनकै निर्देशनमा भरतको हत्या गरिएको स्थानीयको दाबी छ।

गजेन्द्रको दुई पत्नी छन्। उनले पहिलो बिहे बझाङको बित्थचिर–५ देउलेख तल्लो भतडाकी कलावतीसँग गरे। कलावतीबाट गजेन्द्रका दुई छोरा प्रेम र भरत थिए ।

स्थानीयका अनुसार उनको घरमा झगडा भइरहन्थ्यो। सौता जानकीसँग मिलेर गजेन्द्रले जेठी श्रीमती कलावती र कान्छा छोरा भरतलाई शारीरिक यातना दिन्थे।

गजेन्द्र र सौतेनी आमा जानकीले भरतलाई नराम्रोसँग कुट्पटि गथ्र्यो । खाना दिँदैनथे। त्यसैकै त्रासले ८ वर्षीय भरत घरभन्दा टाढा गई जंगलमा गोठालाहरूसँगै खाना खान्थे। घरमा खाना नदिने र उसलाई असाध्यै कुट्ने रहेछन्, बाख्रा गोठाला गएका बेला भरत भेटिन्थ्यो’, स्थानीय दानबहादुर विष्टले नेपालखबरसँग भने, ‘कति दिन मैले लगेको खाना दिएँ, खाना पाएपछि बच्चा मेरो साथ छाड्दैथ्यो।’

विष्टका अनुसार भरत कहिलेकाहीँ जंगलबाट उनको साथ लागेर घरसम्मै पुग्थे। दानबहादुर विष्टको घरबाट भरतको घर पुग्न १० मिनेट हिँड्नुपर्छ। पुस १२ गते पनि भरत दानबहादुरको घरनजिकैको उखुबारीमा थिए। भरतलाई घर लैजान उनकी आमा कलावती आइन्। स्थानीयका अनुसार उनले ‘घरमा किन नआएको’ भन्दै एकरदुई झापड हानेर भरतलाई घर लगेकी थिइन्।

भरत गाउँघरमा देखिएनन्। भरतलाई नदेखेको धेरै भएपछि स्थानीय दानबहादुर विष्टलाई शंका लागेर उनले पुस २७ मा प्रहरी चौकी गोदामलाई खबर गरेका थिए ।

‘१२ गतेपछि बालकलाई गाउँघरमा देखिएन, त्यसपछि खोजबिनका लागि प्रहरीलाई भनेको थिएँ’, विष्टले भने, ‘बालक नदेखिएपछि मरेको छ वा जिउँदै छ, पत्ता लगाइदिनुपर्‍यो भनेर छिमेकीको नाताले प्रहरीकोमा गएको हो।’

त्यसपछि प्रहरीले जंगल, गाउँतिर भरतको खोजी गर्‍यो। तर उनी कतै भेटिएनन्। विगतको व्यवहारले शंका लागेपछि प्रहरीले भरतको आमा कलावती र सौतेनी आमा जानकीलाई नियन्त्रणमा लियो।

प्रहरीसमक्ष उनीहरूले भरतलाई मारेर घर नजिकै खाल्डोमा गाडेको बयान दिए। पुस २९ को साँझ प्रहरी घटनास्थल पुग्यो। त्यसबेला राति भइसकेकाले प्रहरीले खाल्डो उत्खनन गरेन। राति घटनास्थल कुरेर बसेका थिए, प्रहरी। अर्को दिन प्रहरीले खाल्डो उत्खनन गर्दा भरतको शव खाल्डोमा भेटिएको थियो। प्रहरीका अनुसार उनको शवमा छाला गलिसकेको थियो।

वडाध्यक्ष धनबहादुर देउवाका अनुसार अबोध बालकलाई निर्घात कुटपिट गर्दै चिसो रातमा लुगा लगाउन पनि दिइएन। ‘निर्घात कुटपिटपछि राति लुगा पनि लगाउन दिएनन्, कुटपिट र चिसोले राति १२ बजेतिर बच्चा मरेछ,’ उनले भने, ‘त्यसपछि उनीहरूले शव लुकाउन खाल्डोमा गाडेका रहेछन्।’

भरतलाई कुटपिट गर्दा उनका दाइ प्रेम र सौतेनी आमाछोरा पनि घरमै थिए। घरभन्दा ५० मिटर तल भरतको शव खाल्डोमा गाडिएको थियो। आमा र सौतेनी आमाले केही परबाट माटो ल्याएर शव ढाकेका थिए।

आमा र सौतेनी आमाको कुटाइबाट बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘दुवै जनाको कुटपिटबाट बालकको मृत्यु भएको देखिन्छ’, प्रहरी निरीक्षक उमाकान्त जोशीले भने, ‘शव लुकाउन खाल्डोमा गाडेका रहेछन्।’

शव लुकाउन मृतक भरतकी आमा कलावतीले सघाएकी थिइन्। सिस्नुपानी बनाएर पनि उनैले दिएको खुलेको स्थानीयले बताएका छन्। भरतकी आमा कलावतीलाई सौता र श्रीमान् मिलेर कुटपिट गर्ने गरेका थिए। कलावती उनीहरूको शारीरिक यातनाले हायलकायल छिन्। उनको शरीरभरि घाउ नै घाउ छन्।

‘भरतकी आमा सोझी थिइन्, राम्रोसँग बोल्न पनि जान्दिनन्, सौताले उनलाई निकै कुट्थिन्, शरीरभरि निलडाम र घाउहरू छन्, खाना माग्दा गोबर खुवाउने गरेको बुझिएको छ’, वडाध्यक्ष देउवाले भने, ‘सौताले उसलाई मार्ने धम्की दिएर भरतको हत्या घटनामा संलग्न गराएको जस्तो देखिन्छ।’

मृतक भरत आम चुनावअघि कात्तिक अन्तिमतिर पनि सौतेनी आमाबाट कुटिएका थिए। त्यति बेलाको यो घटना गोदाम प्रहरी चौकीसम्मै पुगेको थियो। भरत आलिताल गाउँपालिका–८ को समैजी आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययन गर्थे। उनी विद्यालयमा गएका बेला शिक्षकले शरीरभरि घाउ देखेपछि घटना बाहिरिएको थियो।

आलिताल गाउँपालिकाका अध्यक्ष शेरबहादुर पार्कीले भने, ‘त्यतिबेलै बालकलाई कुटपिट गर्नेलाई नियन्त्रणमा लिइएको भए अहिले यस्तो घटना हुने थिएन।’ त्यसबेला बालकलाई जोगबुढा अस्पतालमा उपचार गरेर फेरि घर फर्काइएको थियो। प्रहरीले भने त्यसबेला घटनाबारे जानकारी आए पनि कुनै उजुरी नआएको जिकिर गरेको छ।

‘प्रहरी अधिकारीका अनुसार हत्याको पछाडि अरू कुनै कारण छैन, सम्पत्तिका लागि नै घटना भएको देखिन्छ’, आमालाई धम्की दिएको कुरा पनि आएको छ, हामी सबै पाटो केलाउँदै छौं।’ सौताले धम्क्याएर आमालाई पनि घटनामा संलग्न गराएको खुलेको छ। आमा कलावतीले सौतालाई सघाएको आरोप छ।

गजेन्द्रले छोरा भरत र जेठी श्रीमती कलावतीलाई बारम्बार कुटपिट गर्ने गरेका थिए। उनी मंसिर पहिलो साता मात्रै कामका लागि धार्चुला गएका थिए। पुस १२ मा उनले कान्छी श्रीमतीलाई फोन गरेर भरतलाई कुट्न भनेको स्थानीयको आरोप छ। बुवा गजेन्द्रको भूमिका पनि शंकास्पद देखिएकाले उनीबारे पनि अनुसन्धान गरिनुपर्ने माग छ।

‘बुवाको भूमिका शंकास्पद देखिन्छ, उनीबारे पनि अनुसन्धान हुनुपर्ने भन्दै हिजो हामीले सीडीओ साबलाई पनि भेटेका थियौं’, पालिका अध्यक्ष पार्कीले भने, ‘घटनाको सत्य, तथ्य छानबिन गरेर दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरेको छ ।

मृतक भरतका बुवा गजेन्द्रले दुवै श्रीमतीविरुद्ध जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा किटानी जाहेरी दिएका छन्। मृतक भरतकी आमा कलावती र सौतेनी आमा जानकी डडेल्धुरा प्रहरीको हिरासतमा छन्। मृतक भरतका बुवा गजेन्द्र पनि प्रहरीको निगरानीमा छन्। जिल्ला अदालतबाट एक साता म्याद थप गरेर उनीहरूबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए।