जनकपुरका २ युवकको अपहरणपछि भारतमा हत्या

काठमाडौँ । धनुषाको जनकपुरधामका दुई युवकको अपहरणपश्चात् भारतमा हत्या भएको छ । १३ दिनदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ को विष्णु साहको हत्या भएको हो । उनीहरु दुवैजना एकै परिवारका हुन् ।

दुईसाता अघि दुवै जना भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफन्तको घर गएका थिए । आइतबार बिहान भारत बिहार राज्यको पर्सा गाउँको पश्चिमतर्फको फिल्डमा दुवै युवकको शव फेला परेको हो ।

अपहरणकारीले विष्णुको आवाज रेकर्ड गरेर उनका आफन्तलाई फोनबाट सुनाएका थिए । परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएका पनि थिए । अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा नाका नजिक बोलाएपछि परिवारजनले प्रहरीलाई जानकारी गराएका थिए ।

भारतीय प्रहरी र नेपाल प्रहरी दुवै युवकलाई अपहरण मुक्त गराउन भूमिका खेलेको धनुषाका प्रहरी उपरीक्षक एसपी विश्वराज खड्काले बताए । तर, गत मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोड्यो ।

आइतबार बिहान दुईवटा शव फेला पारेपछि बिहान मृतक युवकहरुको आफन्तहरुलाई भारतीय प्रहरीले बोलाएको थियो । उनीहरुको शव भारतको बेला परिहारस्थित प्रहरी कार्यालयमा राखिएको छ ।

‘अपहरणको जानकारी पश्चात भारतीय प्रहरीसँग समन्वय गरेर खोजतलासमा सक्रियपूर्वक लागेका थियौं । अपहरणकारीले पठाएको रेकर्ड परिवारजनले मात्र सुनेर हामीलाई समयमा जानकारी दिएनन् । त्यसकारण दुर्भाग्यवश हामीले बचाउन सकेनौं’, एसपी खड्काको भनाइ छ ।

घटनापश्चात प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले २ जना र भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरेको धनुषाका एसपी खड्काले जानकारी दिए । उनीहरुको नाम अहिले गोप्य राखिएको छ । चारजना फरार रहेकाले खोजबिन भइरहेको प्रहरीले जनाएको छ ।

शव अहिले भारतको बेला परिहार पर्सास्थित प्रहरी चौकीमा राखिएको र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ । मृतकका परिवारसँगै शव पहिचानका लागि घटनास्थलमा पुगेका मृतकका छिमेकीहरुले मृतकका परिवारजनले शव चिनेको र नेपाल ल्याउने तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले पनि भारतमा भेटिएको शव सोही दुई युवाहरुको रहेको बताएको छ ।