गैँडा सिकारी गरेको आरोपमा १५ जना पक्राउ

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गैँडाको चोरी सिकारीमा संलग्न रहेका १५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाका इन्द्रमणि आचार्य, बाँकेकी जमुनाकुमारी शर्मा, पाल्पाका बाबुलाल भट्टराई, कैलालीका गणेश भनिने गजाधर सापकोटा, प्रताप चौधरी, ललितपुरका डम्बरकुमार आले मगर, गोरखाका दानबहादुर राना, स्याङ्जाका निर्मल शाही, हरिमाया राना, भरतपुरकी सम्झना चेपाङ, चितवनका राजु भनिने सोमबहादुर चेपाङ, तुलसी चेपाङ, वीरमान बाइबा छन् ।

लामो समय देखि गैँडा सिकारीमा संलग्न रहँदै आएका उनीहरुलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

ब्युरोले अपरेसन ‘रुट टु रुट’ चलाएर प्रहरीले यी सिकारीहरूलाई पक्राउ गर्न सफल भएको ब्युरोका प्रवक्ता सञ्जय सिंह थापाले जानकारी दिए । विगत लामो समय देखि काठमाडौँ र अन्य क्षेत्रमा रहेर गैँडाको खाग विक्रीमा संलग्न रहँदै आएका १५ जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको थापाले बताए ।

१९ पुसमा प्रहरीले काठमाडौँ–७, सरस्वतीनगरमा गैँडाको खाग किनबेच हुन लागेको सूचना पाएको थियो । त्यही सूचनाको आधारमा पुगेको टोलीले इन्द्रमणि र जमुनाकुमारीलाई ५२२ ग्राम तौलको खागसहित समातेको थियो ।

त्यस बेला उनीहरूलाई खागसहित डिभिजन वन कार्यालय, हात्तीसार बुझाएको थियो । त्यसमाथि विस्तृत अनुसन्धान गर्दै जाँदा गिरोह नै समातिएको व्युरोले विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्ने क्रममा सोमबहादुर चेपाङ सहितको टोलीले भरतपुरको नवजागृति सामुदायिक वन उपभोक्ता समितिको सीमामा पर्ने खगेडी खोला वन क्षेत्रमा गैँडा मारेर खाग विक्री गर्न पठाएको खुलेको छ ।

गैँडा मारेपछि केही दिन सोमबहादुरले कालिका नगरपालिका–९, शेरवासमा लगेर लुकाएको पाइएको उनी बताउँछन् । ‘उनले सम्झना भन्ने कमला तामाङलाई खाग विक्री गर्न दिएको पाइएको छ’, सिंह भन्छन्, ‘कमलाले काठमाडौँ लैजान वीरमानसहितको सहयोग लिएको पाइएको छ ।’