नक्कली अख्तियार प्रमुख बन्ने पण्डित पक्राउ

काठमाडौं । आफूलाई अख्तियार दुरुपयोग अनुन्धान आयोगको प्रमुख आयुक्त प्रेम राईका रुपमा परिचित गराएर फोन गर्ने ७२ वर्षिय रामनारायाण पण्डित प्रहरीको फन्दामा परेका छन् । आपूm प्रेम राई भएको र आफ्नो भतिजीलाई इपिएस परिक्षा पास गराउन निर्देशन दिने नक्कली प्रेम राईलाई प्रहरीले पक्राउ गरेको हो ।
इपिएस कोरिया शाखाका प्रमुख पुष्पराज कटवाललाई मंगलबार बिहानै एक व्यक्तिले फोन गरेर भने, ‘म अख्तियारको प्रमुख आयुक्त प्रेमकुमार राई बोलेको, मेरो भतिजी डोमा शेर्पालाई जसरी पनि इपिएस परीक्षा पास गराउनुहोला ।’ सुरुमा त उनी अलमलमा परे । तर, राईसँग चिनजान भएकाले त्यस्तो दबाब दिन फोन गरेकोमा विश्वास गरेनन् । थप बुझ्दा त्यो नम्बर राईले प्रयोग नभएको खुल्यो ।

मंगलबार नै कटवालले प्रहरीलाई त्यसबारे जानकारी गराए । प्रहरीले अनुसन्धान गर्दा कागेश्वरी–मनहरा नगरपालिका– ५ थली बस्ने ७२ वर्षीय रामनारायण पण्डितले त्यसरी प्रमुख आयुक्त हुँ भन्दै फोन गरेको खुल्यो । प्रहरीले उनलाई केही घन्टामै पक्राउ गर्‍यो । उनले आफ्नै घरमा बस्ने ससुरालीतर्फबाट भदैनी नाता पर्ने डोमालाई परीक्षामा उत्तीर्ण गराउन अख्तियार प्रमुख हुँ भन्दै फोन गरेका हुन् । डोमाले कोरियन भाषा परीक्षा दिइरहेकी थिइन् । उनलाई उत्तीर्ण गराउन पण्डितले त्यसरी प्रमुख आयुक्त बनेर कार्यालयका प्रमुख कटवाललाई दबाब दिएका थिए ।

सोमबार पनि उनले कार्यालयका अधिकृत शोभाकर भण्डारीलाई फोन गरी त्यसैगरी दबाब दिएका थिए । फोन मात्र होइन, शेर्पाको प्रवेशपत्रको फोटो समेत ह्वाट्सएपमा पठाएका थिए । ‘फोन आउँदा सुरुमै शंका लागेको थियो,’ कटवाल भन्छन्, ‘थप बुझ्दा पुष्टि भएपछि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेका हौं ।’ जिल्ला प्रहरी परिसर ललितपुरले पण्डितलाई थुनामा राखेर कारबाही अघि बढाएको छ । नपाएको पद पाएको भनी झुक्याउने प्रयास गरेकाले पण्डितलाई पक्राउ गरी कारबाही अघि बढाइएको ललितपुर परिसरका एसपी प्रवीण पोखरेलले बताए ।