सन्तुलित परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना जरुरी : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सर्वोपरी हितलाई ध्यान दिएर परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिइएकी छिन् ।

नेपाल विश्व सम्बन्ध परिषद्को ७५औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले बदलिँदो परिवेशअनुरूप नेपालको कूटनीतिक सम्बन्ध सन्तुलित तवरबाट सञ्चालन हुनुपर्ने बताइन् । “बदलिँदो परिवेशमा नेपालको परराष्ट्र नीतिको उद्देश्य र लक्ष्य प्राप्तिका लागि भइरहेका प्रयासका बारेमा यस्ता फोरममा छलफल हुन जरुरी छ”, उनले भनिन् ।

एकातिर विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा अभूतपूर्व विकासले मानव जीवनलाई सहज र सुखी बनाउन योगदान पुगेको छ भने अर्कातर्फ विश्वव्यापी रूपमा अभूतपूर्व चुनौतीको सामना गरिरहेको भन्दै राष्ट्रपति भण्डारीले भूराजनीतिक जटिलता, बढ्दो असमानता, जलवायु परिवर्तनले ल्याएको सङ्कटलगायतका कारणले विश्व शान्ति र समृद्धिमा नयाँ चुनौती उत्पन्न भएको उल्लेख गरिन् ।

उनले आत्मनिर्भर, स्वावलम्बी र स्वाधीन अर्थतन्त्रको विकासमा वर्तमानको अन्तरनिहीतलाई चिर्दै नेपालको उपस्थितिलाई अर्थपूर्ण र प्रभावकारी बनाइनुपर्नेमा जोड दिइन् । नेपालले सदैव आफ्नो स्वतन्त्रता र सार्वभौमसत्ता अक्षुण्ण राखेको भन्दै परराष्ट्र नीतिमा व्यापक साझा सहमति तथा एकीकृत दृष्टिकोण निर्माण गर्न जरुरी रहेको उल्लेख गरिन् “बदलिँदो आन्तरिक तथा अन्तर्राष्ट्रिय परिवेशलाई विचार गरी आफ्नो राष्ट्रिय हित अनुकूल परराष्ट्र नीति सञ्चालन गर्नु हाम्रो प्राथमिकतामा पर्नुपर्दछ । नेपालको संविधानले निर्दिष्ट गरेको मुलुकको शासन सत्ता, अखण्डता र राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ”, उनले भनिन् ।

राष्ट्रपति भण्डारीले नेपालको परराष्ट्र नीतिको प्रमुख उद्देश्य नेपाल र नेपाली जनताको हित प्रवर्द्धन गर्नु हो भन्दै अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि उच्च राख्न र सबै देशबाट अधिकतम सद्भाव, समर्थन र सहयोग प्राप्त गर्न प्रभावकारी कूटनीतिको माध्यमबाट अनुकूल अन्तर्राष्ट्रिय वातावरणको सिर्जना गरिनुपर्नेमा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले दिगो शान्ति, समृद्धि र जनताको जीवनमा परिवर्तन ल्याउन नेपालले आर्थिक सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै दिगो विकासका लक्ष्य, अन्तर्राष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय विकासको आकांक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताइन् । आर्थिक विकास, वैदेशिक लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र निर्यात प्रवर्द्धनमा राष्ट्रिय विकासलाई अन्तर्राष्ट्रिय सद्भाव र सहयोग अभिवृद्धिका लागि ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापाले नेपालले सन्तुलित कूटनीतिको माध्यमबाट विश्वपरिवेश जटिल बनिरहेको आजको सन्दर्भमा शान्ति प्रवर्द्धनका निम्ति सकारात्मक र समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

परिषद्का अध्यक्ष हेमन्त खरेलले कूटनीतिक बहस र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापनामा संस्थाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । सो अवसरमा परिषद्ले प्रकाशन गरेको स्मारिका राष्ट्रपति भण्डारीले विमोचन गरेकी थिइन् । सोही अवसरमा कूटनीतिक तथा आर्थिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै परिषद्ले डा थापालाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गरिन् ।