विष्णु पौडेल र भीम रावल एकअर्कामाथि आरोप लगाउँदै जुहारी

काठमाडौँ । पछिल्लो साता एमाले उपाध्यक्ष विष्णु पौडेल र भीम रावल वीच निकै जुहारी चल्न थालेको छ । एकले अर्कालाई दोष दिने अपमान गर्ने काम सार्वजनिक रुपमा नै हुन थालेको छ । यसै क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले एकपछि अर्को गल्ती गर्दै गएको दाबी गरेका छन् । एक कार्यक्रममा धनगढी पुगेका पौडेलले भीम रावलले पार्टीको निर्देशन मान्ने गरेको आरोप लगाएका छन् ।

‘भीम रावलजीले पार्टी अनुशासनको दृष्टिकोणले, पार्टी सदस्यको हैसियतमा निर्वाह गर्नुपर्ने भूमिकाको हिसाबले र विगतमा लामो समय नेतृत्वमा पनि रहिसकेको हैसियतमा भन्ने हो भने उहाँले एउटा पार्टी सदस्यको भूमिका निर्वाह गर्नुभएको छैन’, पौडेलको भनाइ छ । उनले रावलले पार्टी निर्णय नमानेको र अनुशासन समेत उल्लङ्घन गरेको बताए ।

‘उहाँ पार्टीको निर्णय मानेर चल्नुभएको छैन । उहाँले अनुशासन पनि उल्लङ्घन गर्नुभएको छ । पार्टी निर्णयकाविरुद्ध पार्टीको खिलाफमा बोल्नुभएको छ र पार्टीलाई कमजोर पार्ने गतिविधि उहाँबाट भइरहेका छन्’, उपाध्यक्ष पौडेलले भने, ‘उहाँले एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । घरी उहाँ पत्रकार सम्मेलन गर्नुहुन्छ, घरी प्रतिक्रियात्मकता ओर्लनुहुन्छ । कहिले अधुरा सूचनाका आधारमा प्रतिक्रियामा ओर्लनुहुन्छ ।’
उता भीम रावलले भने विष्णु पौडेलले आफूलाई राजनीति गर्न सिकाईरहनु नपर्ने बताएका छन् । विष्णु पौडेलले आफ्नो हैसियतमा बस्न समेत रावलले चेतावनी दिएका छन् ।