उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध उजुरी दिनु पर्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध मंगलबार उजुरी दिने समय तोकेको छ ।

निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दिएका उम्मेदवार विरुद्ध उजुरी दिनका लागि आयोगले मंगलबारका लागि समय तोकिदिएको हो ।

तनहुँ–१, बारा–२ र चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको थियो । सोमबार तनहुँ–१ मा ९ जना, चितवन–२ मा २४ जना र बारा–२ मा ३६ जना गरेर कुल ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

ती उम्मेदवारविरुद्ध उजुरी परेमा बुधबार छानबिन गरी बुधबार नै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।

उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि बिहीबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह पनि बिहीबार नै प्रदान गरिने आयोगले जनाएको छ ।

त्यसपछि चुनाव प्रचार प्रसार सुरु हुने र वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुने निर्वाचन तालिका छ ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा तनहुँ–१ बाट विजयी हुनुभएका रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा–२ बाट निर्वाचित हुनुभएका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि ती क्षेत्र रिक्त छन् ।

यसैगरी, चितवन–२ बाट निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि उहाँको सांसद् पद गएको थियो । त्यसपछि सो क्षेत्र पनि रिक्त छ ।

रिक्त रहेका तीन वटै क्षेत्रमा २०८० वैशाख १० गते एकैदिन उपनिर्वाचन हुन लागेको हो ।