एसीसी प्रिमियर कप : मलेसिया ६ विकेटले पराजित

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायो ।

नेपालले जितका लागि पाएको २ सय ३६ रनको लक्ष्य ३६. २ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपाललाई जिताउन भीम सार्कीले ७१ रन बनाए । कुशल मल्ल ७० रनमा नट आउट रहे । रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । आसिफ सेख १ रनमा आउट भए ।

यसअघि कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गरेपछि मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनाए ।

अहमद फैज र विरन्दीपले दोस्रो विकेटका लागि ११६ रनको साझेदारी गरे । फैजले ९५ बलमा ८ र १ छक्का प्रहार गरी सर्वाधिक ७६ रन बनाए । विरन्दीप ९४ बलमा ४६ रन जोडे ।

ओपनर मुहम्मद अमिर १७ रन बनाएर आउट भएका थिए । त्यसबाहेक अजार हायतले २२, मुहम्मद वाफिकले २१ र मुहमद सहादतले १५ रन बनाए । मलेसियाले १२ रन अतिरिक्तबाट पाएको थियो ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३–३ विकेट लिए । सोमपालले ९ ओभरमा ४० रन खर्चिए भने सन्दीपले १० ओभरमा १ मेडन राख्दे ४८ रन खर्चिए । ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।