प्रसाद २ : मायाभन्दा ठूलो नै के छ र…

काठमाडौँ । ‘मायाभन्दा ठूलो नै के छ र’ यो गीतले राम्रो चर्चा पायो । चलचित्र ‘प्रसाद’ मा सङ्गीत गीतले कथालाई व्याख्या गरेको छ । सुन्दरबस्तीमा बसोबास गर्ने शिक्षित युवा बाबुराम परियार र युवती नारायणी कार्की प्रेममा परेपछि उनीहरूले माया नै ठूलो ठान्छन् । यद्यपि उनीहरूको अन्तरजातीय प्रेमलाई समाजले स्विकार्दैन । पेसागत रूपमा कपडा सिलाउने बाबुरामसँग गाउँले मुखियाले आफ्नी छोरी नारायणीको सम्बन्ध स्विकार्दैनन् । फलतः प्रेमलाई संसार मानेको जोडी गाउँबाट सहर पस्छन् ।

शिक्षित समाज भनिएको सहरमा सामाजिक विभेद र निःसन्तान दम्पतीको पीडाबाट गुज्रिएका बाबुराम र नारायणीले नसोचेको घटनाको सामना गर्छन् । आफ्नै गाउँलेबाट सहरमा बलात्कृत भएकी नारायणीको जीवनमा झनै पीडा थपिन्छ । नारायणीबाट जन्मिएको बच्चालाई बाबुरामले ‘प्रसाद’ को रूपमा ग्रहण गर्छन् ।

चलचित्रका लेखक सुशील पौडेलले नारायणीबाट जन्म भएको सन्तान बाबुरामले प्रसादको रूपमा स्वीकारेको बताए । “मन्दिरमा चढाइएको फलफूल कसरी त्यहाँसम्म आइपुग्यो भन्ने सोचिँदैन, तर मन्दिरबाट दिइने त्यही फल भक्तजनका लागि प्रसाद हुन्छ । बाबुरामले पनि नारायणीको कोखलाई मन्दिर मानेका छन्”, लेखक पौडेलले भने। उनको लेख्न रहेको ‘प्रसाद’ को दोस्रो शृङ्खला प्रदर्शनको तयारीमा छ । निर्माणको समयदेखि नै विभिन्न कठिनाइलाई झेल्दै यो आउँदो वैशाख १५ मा प्रदर्शन हुँदैछ ।

‘प्रसाद २’ मा निर्देशक फेरिएका छन् । कलाकार पनि फेरिएका छन् । यसको कथा अघिल्लो चलचित्र सकिएकै स्थानबाट अगाडि बढेको लेखक पौडेलले जानकारी दिए । “अनुहार फेरिएका छन् । तर पात्र र परिवेश उही हो । त्यसैले हामीले यसलाई शृङ्खलाबद्ध रूपमै अगाडि बढाएका छौँ”, लेखक पौडेलले भने। त्यसो त ‘प्रसाद’ का निर्देशक दिनेश राउतले कथा अगाडि बढ्ने परिस्थिति नरहेको भन्दै निर्देशन नगर्ने घोषणा गरेका थिए । त्यही कारण दोस्रो शृङ्खलालाई सुदर्शन थापाले निर्देशन गरेका छन् ।

लेखक पौडेलले भने, “देशमा राजनीतिक परिवर्तन आइसकेपछि राज्यको भरोसामा उनीहरू गाउँमा गएर आफ्नो अस्तित्वलाई परिभाषित गर्न खोजे । उनीहरूको अन्तरजातीय र वर्गीय सङ्घर्ष तथा बाँकी जीवनलाई देखाउन हामीले दोस्रो शृङ्खला तयार गरेका हौँ ।” चलचित्रमा अभिनेता विपिन कार्कीले बाबुराम र अभिनेत्री केकी अधिकारीले नारायणीको भूमिका निर्वाह गरेका छन् । सहरमा घटेका घटनाक्रमलाई साथ रहेर सामना गरेका बाबुराम दम्पती गाउँ फर्किने तयारी गर्छन् ।

यो कथा आफूद्वारा भनिनुपर्छ भन्ने लागेर नै निर्देशनको लागि सहमत भएको निर्देशक थापाले जानकारी दिए । “मेरो लागि पात्र, परिवेश सबै नयाँ थियो । यो कथालाई मैले न्याय दिनसक्छु भन्ने लागेर नै निर्देशन गरेको हुँ । संविधानतः नेपाल सबै जातको फूलबारी भनिए पनि व्यवहारतः त्यसो हुन सकिरहेको छैन । यसलाई हामीले प्रस्तुत गरेका छौँ”, निर्देशक थापाले भन्नुभयो । प्राय सहरिया प्रेमकथालाई चलचित्रमा प्रस्तुत गने निर्देशक थापाले यसपटक भिन्न परिवेशलाई पर्दामा देखाउनेछन् ।

उनले चलचित्र बनाउने प्रक्रियामा आफ्नोपन दिएको बताए । “यसको निर्माण शैली मेरोअनुसार छ । तर कथामा मौलिकता छ । यसमा हाम्रै समाजलाई चित्रण गरेका छौँ । सरल कथा र प्रस्तुति छ”, निर्देशक थापाले भन्नुभयो, “बाहिरी रूपमा देखिएका उतारचढावले चलचित्रलाई असर गरेको छैन । मैले सोचे जस्तो चलचित्र बनाउन सफल भएको छु । धन्दापछि मैले फरक शैली रोजेको हुँ ।”

चलचित्र ‘प्रसाद २’ को सार्वजनिक प्रचार सामग्रीले व्यावसायिक पाटोलाई उत्तिकै सवाल रूपमा उजागर गरेको छ । यसमा अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपालले अभिनय गरेका छन् ।