अवैध लागूऔषधसहित ११ जना पक्राउ

काठमाडौं। ठमेलस्थित होटल याला पिकबाट अवैध लागूऔषध कोकिन १ केजी ८० ग्रामसहित भारतीय नागरिक ५१ वर्षीय रविन्द्र कुमार पाराशरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा महिलाले बोक्ने झोलाभित्र फल्सबटम बनाई लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त झोला केनियाका नागरिक ६३ वर्षीया PILISILA WANJA NDIRITU महिलासँग लिएको भन्ने खुल्न आएपछि काठमाडौं ठमेलस्थित होटल ट्राभलर्स होमबाट NDIRITU लाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरू उपर लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका विद्यानगर शारदा मावि नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १६ ग्राम १० मिलिग्रामसहित सोही नगरपालिका रतनपुर बस्ने २० वर्षीय जिवन भण्डारी समेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका कौवापुर खल्लाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय शमिर अधिकारी र २४ वर्षीय प्रकाश ओली रहेका छन् । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

लम्कीचुहा नगरपालिका सोहनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ४ सय ८० मिलिग्रामसहित २३ वर्षीय राजु चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

झापाको मेचिनगर चारआलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित अठारकट्ठे बस्ने २६ वर्षीय आकाश गुरुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी मेचिनगर मियाँबस्ती बस्ने ३१ वर्षीय मेसरु मियाँलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।