तनहुँ निर्वाचन क्षेत्र नं. १ मा मतदान सुरु

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनका लागि मतदान सुरु भएको छ ।

२ नगरपालिका र ३ गाउँपालिका रहेको यस निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि ६९ मतदान स्थलमा १ सय ५२ मतदान केन्द्र कायम गरिएको छ । उपनिर्वाचन सम्पन्न गर्नका लागि ७ सय ६० जना कर्मचारी खटिएका छन् ।

गत मंसिर ४ गतेको निर्वाचनमा तनहुँ १ मा १ लाख २३ हजार ४ सय ९० मतदाता रहेकोमा उपनिर्वाचनका लागि १ लाख २३ हजार ३ सय ५ मतदाता कायम भएका छन् ।

मतदाता नामावली अद्यावधिकका क्रममा मृत्यु भएका, दोहोरो नाम भएका, बसाइँसराइ गरेकाको नाम हटाउँदा मतदाता घटेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उपनिर्वाचनका लागि विभिन्न ९ राजनीतिक दलले उम्मेदवारी मनोनयन दर्ता गरी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।