छोरा हिरासतमा आफू भारत टाप कसेका टोपबहादुरलाई घरमा खोजेर पाईला र ?

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको अभियोग लागेका एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझी भैरहवा हुँदै भारत टाप कसिसकेका छन् । जनयुद्धका समयमा कपिलवस्तु नाकाको नाका हुँदै भारतमा बस्ने गरेका उनी अहिले ठगी प्रकरण चलेपछि पुन भारत टाप कसिसकेको आशंका गरिएको छ । तर नेपाल प्रहरीले भने उनको खुमलटार हाईटमा रहेको घरमा गएर छापा मारेको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा मुछिएपछि अनुसन्धानका लागि प्रहरीले रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दासमेत रायमाझी पक्राउ परेका छैनन् ।
यो घटनामा हालसम्म रायमाझीका छोरा सन्दीपसहित, पूर्वगृहसचिव हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन्। तर रायमाझी पक्राउ परेका छैनन् ।

नेपाल प्रहरीलाई राजनीतिक दवाव नपर्ने र सहज रुपमा काम गर्ने हो भने रायमाझी पक्राउ पर्न धेरै समय लाग्दैन । तर रायमाझीलाई पक्राउ गरी हिरासतमा नराख्नका लागि प्रहरीलाई पनि उत्तिकै दवाव परिरहेको श्रोतको दावी छ ।