पूर्व गृहमन्त्री बालकृष्ण खाँण प्रहरीको नियन्त्रणमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री एवं कांग्रेसका नेता बालकृष्ण खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको छ। भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।

अमेरिका जान चाहने र मोटो रकम दिन सक्ने नेपालीलाई भुटानी शरणार्थी बनाउन सहज बनाउन खाँणले टेकनारायण पाण्डेलाई गृह सचिवमा ल्याएका थिए । उपराष्ट्रपति कार्यालयको बहालवाला सचिव रहेकै बेला पाण्डेलाई प्रहरीले एक हप्ता नै अघि पक्राउ गरिसकेको छ ।

उनी भन्दा अगाडि यसमा जोडिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्र राई पनि पक्राउ परेका छन् । प्रकणमा मुछिएका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी भने फरार छन् । गत बुधवार पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका हुन् ।