प्रधानमन्त्री दाहादलाई राप्रपाले बुझायो ज्ञापन-पत्र

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल  दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ज्ञापन-पत्र बुझाएको छ। शुक्रबार दिउँसो सिंहदरबारमा पुगेर प्रधानमन्त्री दाहाललाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले ज्ञापन-पत्र बुझाएको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएकाे छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल सरकारको निष्पक्ष छानबिन गरी घटनामा दोषी देखिएका जुनसुकै तहका व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन दबाब दिने उद्देश्यले सो ज्ञापनपत्र बुझाएको हो । अध्यक्ष  लिङ्देनसहित राप्रपाको टोलीले शुक्रबार प्रधानमन्त्री दाहाललाई भेटेर ज्ञापन पत्र बुझाउँदै ठूला भ्रष्टाचारका फाइल खोलिनुपर्ने माग गरेको हो।

ज्ञापनपत्र बुझाएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो सुकैलाई पनि कारबाही हुनुपर्ने, छानबिनको प्रक्रिया कुनै बहानामा रोक्न नहुने कुरा राखेका छौं ।’’ अध्यक्ष लिङ्देनले २०४६ सालपछि भ्रष्टाचारसँग सम्बन्धित सबै मुद्दाको छानबिन हुनुपर्ने माग पनि राखेको बताए ।  ‘कुनै भ्रष्टाचारीले उन्मुक्ति पाउनु हुन्न,’ लिङ्देनले भने, ‘सबै ठूलाठूला भ्रष्टाचार काण्डका फाइलहरू पनि खोलिनुपर्‍यो।’ ‘०४६ पछिका सबै उच्च पदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरेर अवैध सम्पत्ति जफत गरियोस्,’ उनले भने।