दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–६ कात्तिके देउराली घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० कपन आकाशेधारा बस्ने २९ वर्षीय उमेश रिमाल रहेका छन् ।

उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रिमाल समेतले १७ जना पीडितलाई वैदेशिक रोजगारका लागि दुबई पठाई कुखुरा फर्ममा काम लगाईदिन्छु मासिक ५० हजार रूपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी ९ लाख ५० हजार रूपैयाँ रकम ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।