भ्रष्टाचार भएको आशंकामा गाउँपालिकामा अख्तियारको छापा, फाइल नियन्त्रण

काठमाडौं । पर्साको छिपहरमाई गाउँपालिकामा अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको छ।

गाउँपालिकाको काम कारवाही र विकास निर्माणमा गरिएको भ्रष्टाचारविरुद्ध परेका उजुरी सम्बन्धि कागजात माग गर्दा पनि गाउँपालिका कार्यालयले उपलब्ध नगराएपछि मंगलबार अख्तियार टोलीले गाउँपालिका कार्यालयमै पुगेर कागजात नियन्त्रणमा लिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले मंगलबार गाउँपालिका कार्यालयमा छापा मारेर उजुरी परेका योजना सम्बन्धि फाइल र कागजातहरु नियन्त्रणमा लिएको हो।

गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ता र प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा लगायतका जनप्रतिनिधि र कर्मचारीले मिलोमतोमा विभिन्न योजना, कर्मचारी नियुक्ति, सामग्री खरिद लगायतमा भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले सम्बन्धित योजनाहरुको कागजात माग गरेको थियो। तर प्रमुख प्रशासकीय अधिकृत ओझाले कागजात उपलब्ध गराउन आलटाल गर्दै आएका थिए।

पटकपटक आग्रह गर्दापनि गाउँपालिकाले कागजात उपलब्ध नगराएपछि अख्तियार टोलीले कार्यालयमै पुगेर कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए। ‘हामीले कयौँ पटक कागजातहरु माग गर्‍यौं तर छिपहरमाईका कर्मचारी र जनप्रतिनिधिले विभिन्न बहाना बनाउँदै फाइल दिन आनाकानी गर्दै आइरहेका थिए,’ सूचना अधिकारी सापकोटाले भने, ‘अत्ती भएपछि हामी आफै गाउँपालिका पुगेका हौँ, आवश्यक कागजात र फाइलहरु नियन्त्रणमा लिएर आएका छौँ।’

सापकोटाका अनुसार गाउँपालिकाका अध्यक्ष गुप्ता र प्रमुख प्रशासकीय अधिकृत ओझाविरुद्ध कम्तिमा पनि १५ वटा उजुरी परेको छ।

फाइलहरु छिपहरमाईविरुद्ध परेका उजुरीका विषयमा छानविनी गरिरहेका अनुसन्धान अधिकृतलाई बुझाइएको सापकोटाको जानकारी दिए अनुसन्धानका क्रममा भ्रष्टाचार ठहर भए अख्तियारले आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउने उनले बताए।

यता, गाउँपालिका अध्यक्ष गुप्ताले भने छापामारी नभएको दाबी गरे। परेको उजुरी सम्बन्धि कागजातहरु अध्ययनका लागि अख्तियार टोलीले लगेको बताउँदै उनले भने, ‘छापामारी नै भएको होइन। ‘करारमा नियुक्त गरिएका कर्मचारीको विषयमा कसैले उजुरी दिएको रहेछ, सोही सम्बन्धि आवश्यक कागजात अध्ययनका लागि अख्तियार टोलीले लागेको मात्र हो।’