काठमाडौं । बोलिभियाको संसदमा मंगलवार सत्र चलिरहेको बेलामा सांसदहरूले कुटाकुट गरेको भिडियो सार्वजनिक भएको छ ।
मन्त्री एडुआर्डो देल कास्तिलोले सान्ता क्रुज क्षेत्रका गभर्नर लुइस फर्नान्डो कामाचोलाई कैद गरिएको विषयमा संसद्समक्ष धारणा राख्दै गर्दा झैझगडा भएको हो ।
पक्राउ गरिनुको वैधताको प्रतिरक्षा गर्ने क्रममा देल कास्तिलोले कामाचोको दल क्रीमोसका सांसदहरूलाई कठोर आलोचना गर्दै तिनीहरू बोलिभियाली जनताको पैसा लुट्न आएका चोर हुन् भने ।
उनी बोल्दै गर्दा विपक्षी सांसदहरूले देशमा लोकतन्त्र मरेको भन्ने सन्देशसहितको प्लेकार्ड बोकेका थिए । उनीहरूले देल कास्तिलोलाई आतंकी मन्त्रीको संज्ञा दिइएको तस्वीर पनि बोकेका थिए ।
सरकारसमर्थक सांसदहरूले ती प्लेकार्ड खोस्न खोज्दा २० जना जति सांसदहरूले एकअर्कालाई मुक्का प्रहार गरेका थिए ।
झगडामा कुनै पक्ष घाइते भएको छैन । बोलिभियामा राजनीतिक ध्रुवीकरण बढिरहेको संकेत यस घटनाले दिएको छ ।
Add Comment