भुटानी शरणार्थी प्रकरण : कति जना सरकारी वकिलले गर्दैछन् बहस ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले बुधबार अपरान्ह अभियोग पत्र दर्ता गरेसँगै प्रतिवादीको बयान शुक्रबारदेखि अदालतमा सुरू हुँदैछ ।

बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा परेका कारण प्रतिवादीको बयान भोलिदेखि लिन लागिएको हो । सबै १६ जना प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस सुरू हुनेछ । बयानकै लागि कम्तीमा ३र४ दिन लाग्ने अनुमान गरिएको छ । यो मुद्दामा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले कम्तीमा ५ जना सरकारी वकिल उतार्ने तयारी गरिरहेको छ ।

‘ठुलो मुद्दा भएका कारण ५ देखि ८ जना सरकारी वकिल बहसमा सहभागी गराउने हाम्रो तयारी छ’, सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले भने, ‘पीडितले निजी कानून व्यवसायीलाई पनि बहसमा उतार्ने सुनिरहेको छु । त्यसैले वादी पक्षबाट बहस गर्ने कानून व्यवसायीको संख्या अहिले नै यकिन गर्न सकिने अवस्था छैन ।’

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले पक्राउ परेका १६ सहित ३० जनाविरुद्ध विभिन्न ५ वटा कसुरमा मुद्दा दायर गरेको थियो । यो प्रकरणमा सचिव, सांसद, पूर्व गृहमन्त्रीजस्ता ‘हाइ प्रोफायल’ प्रतिवादी भएका कारण एकै प्रतिवादीले धेरैजना कानूनी व्यवसायीलाई बहसमा उतार्न सक्ने सम्भावना छ ।

बहस सुनिसकेपछि न्यायाधीशले साधारण तारेख, धरौटी माग्ने र कारागार चलान गर्नेमध्ये एउटा आदेश गर्नेछन् ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर २८ करोडभन्दा बढी ठगिएको भन्दै १ सय १५ जना पीडितहरूले उजुरी दिएका थिए । अझै सयौं पीडित सम्पर्कमा नआएको र केही प्रतिवादीहरूको पुरा विवरण नखुलेको भन्दै यो प्रकरणमा फेरि अनुसन्धान गर्ने बाटो प्रहरीले बाँकी नै राखेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते ३ जनालाई पक्राउ गरी यो घटनामा अनुसन्धान सुरू भएको थियो । उनीहरूलाई पक्राउ गरिएको ६०औँ दिनमा बुधबार अभियोग पत्र दर्ता भएको हो ।

अदालतमा अभियोग पत्र दर्ता भएपछि प्रतिवादीलाई थुनामा राख्न अब अदालतबाट म्याद लिइरहनु पर्दैन ।