आइपीएल क्रिकेटको सट्टाबाजी खेलाउने चार जना पक्राउ

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगितामा अनलाईन सट्टाबाजी ९जुवा० खेलाउने धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्जबाट एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ।

आइपीएलमा बुधबार राति भएको मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्ट्स बीचको खेलमा सट्टाबाजी गरेको आरोपमा प्रहरीले वीरगन्ज महानगरपालिका-२४ का ३४ वर्षीय धुरेन्द्रप्रसाद यादव, बाराको कलैया उपमहानगरपालिका-४ का ३१ वर्षीय सरोज साह, सर्लाहीको रामनगर गाउँपालिका-६ का ३५ वर्षीय सन्तोषकुमार यादव र भारतको उत्तर प्रदेश राज्यको गोरखपुर देवरियाका ५२ वर्षीय मुन्ना भनिने धर्मनाथ प्रसाद जयसवाललाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार, वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित सञ्जय श्रीवास्तवको घरमा बुधबार राति आइपीएल प्रतियोगिताको अनलाइन सट्टाबाजी खेलाइरहेकै अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

श्रीवास्तवको घरमा आइपीएलको सट्टाबाजी चलिरहेको गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो। त्यही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरीको टोलीले श्रीवास्तवको तीन तल्ले घरमा पुगेर खानतलासी गरेको थियो।

त्यसक्रममा यादवद्वय, साह र जयसवाललाई अनलाइन सट्टाबाजी खेलाइरहेकै अवस्थामा रंगेहात पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गिरिले बताए।

प्रहरीले उनीहरूको साथबाट नगद ३ लाख ९० हजार ५०० सय नेपाली रुपैयाँ र १५ हजार ७५० भारतीय रुपैयाँ पनि बरामद गरेको छ।

यस्तै अनलाइन सट्टाबाजीका लागि प्रयोग भइरहेको विभिन्न कम्पनीको मोबाइल, ल्यापटप र टेलिभिजन सेट पनि जफत गरिएको गिरिले जानकारी दिए।

पक्राउ परेकाहरूमाथि अनलाइन सट्टाबाजीको मुद्दा चलाएर पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको गिरिले बताए।