स्वास्थ्यकर्मीहरु धर्नामा, कयौं महिनादेखि पाएनन् तलब

काठमाडौं । रास्कोट नगरपालिकाका १५ जना स्थायी स्वास्थ्यकर्मी धर्नामा बसेका छन् ।

नगरपालिकाको विभिन्न स्वास्थ्य संस्थामा काम गर्दै आएका स्वास्थ्यकर्मीले एघार महिनादेखि तलब भत्ता नपाएपछि धर्नामा बसेका हुन् । साउनदेखि तलबभत्ता, चाडपर्व र पोसाक भत्ता नपाएको गुनासो गर्दै गत बिहीबारदेखि स्वास्थ्यकर्मीहरु रास्कोट नगरपालिकाको गेटमा अनिश्चितकालीन धर्नामा बसेका छन् ।

३ महिलासहित १५ जना स्थायी स्वास्थ्यकर्मी दरबन्दी मिलान र समायोजनबाट रास्कोट आएर काम गरिरहेको भए पनि ११ महिनादेखि तलब भत्ता नपाएकोले धर्नामा बस्नु परेको जनस्वास्थ्य निरीक्षक देवेन्द्र शाहीले बताए । ‘हामीले तलब भत्ता नपाएको ११ महिना पुग्यो,’ उनले भने, ‘बाँच्नै मुस्किल भएकाले बाध्यताले धर्नामा बस्नुपर्ने भयो ।’ उनले उधारो खाएको तिर्न नसकेर स्वास्थ्यकर्मी समस्यामा परेको बताए । तलब नपाएपछि एक जनस्वास्थ्य निरीक्षक, ४ सिनियर अहेब र १० जना अहेब धर्नामा छन् । उनीहरुले नियमित तलब भत्ता लगायतका सुविधा पाउनु पर्ने माग राख्दै नगरपालिकालाई जेठ ८ गते लिखित रुपमा जानकारी दिँदै धर्नामा बस्ने घोषणा गरेका थिए ।

दरबन्दी मिलान र समायोजनामा दरबन्दीभन्दा बढी स्थायी स्वास्थ्यकर्मी नगरपालिकामा आएकाले स्वास्थ्य मन्त्रालयबाट तलब नआएको रास्कोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हंशराज बरालले बताए । ‘नगरपालिकामा १८ जनाको मात्र स्थायी दरबन्दी हो,’ उनले भने, ‘१५ जना जिल्ला बाहिरबाट समायोजनको प्रक्रियाबाट आएकाले तलबभत्ता आएन ।’

उनले स्थायी कर्मचारीको तलब संघीय सरकारबाट आउनुपर्नेमा नआएकाले ११ महिनादेखि तलब लिन नसकिएको बताए । उनले संघीय संरचनाले दरबन्दी मिलान र समायोजनको समस्या देशभर रहेको जानकारी दिँदै देशभर ७ सय जना कर्मचारीले गत साउनदेखि तलब खान नपाएको बताए । उनले माथिबाटै तलब नआएकाले दरवन्दीमा भएका स्वास्थ्यकर्मीले पनि वैशाखदेखि तलब खान नपाएको गुनासो पोखे ।

रास्कोट नगरपालिकामा दरबन्दी र करारका गरी ७५ जना स्वास्थ्यकर्मी छन् । करारका कर्मचारीलाई नगरपालिकाले तलब खुवाइरहेको भए पनि दरबन्दीका स्थायी कर्मचारीको तलब मन्त्रालयबाट आउने भएकाले केही समस्या आएको नगर उपप्रमुख मनिराज बरालले बताए ।

उनले आफूले मन्त्रालयमा कुरा गरेर एक साताभित्र तलब पठाइ दिने वचन पाएको जानकारी दिँदै धर्नामा बसेका कर्मचारीलाई काममा फर्किन अनुरोध पनि गरेका छन् । रास्कोट नगरपालिकामा रवि लामिछानेको सहयोगमा सुरु भएको एक नगर अस्पताल, ३ वटा स्वास्थ्य चौकी, ६ वटा आधारभूत स्वास्थ्य केन्द्र र २ वटा सामुदायिक स्वास्थ्य इकाइसहित १२ वटा स्वास्थ्य संस्थाहरु छन् । कान्तिपुर