कांग्रेसले भोट पाएको तर विश्वास गुमाएको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले भोट पाएको तर विश्वास गुमाएको बताएका छन् ।

प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । समस्या हल गर्ने र भविष्यको आशा देखाउने विश्वास गुमाएकाले कांग्रेसका कार्यकर्तामा निराशा छाएको थापाले बताए । ‘आजको समस्या कांग्रेसले हल गर्छ भन्ने नागरिकलाई लागेको छैन । भोट पाएका छौं, विश्वास गुमाएका छौं,’ उनले भने ।

पार्टीभित्र सुधार चाहने र सुधार नचाहने गुट मात्रै रहेको थापाले बताए । उनले भने, ‘कांग्रेस बदल्ने र कांग्रेस सुधार गर्न नचाहने गुट छ । परिवर्तन नचाहनेलाई कमजोर बनाउँदै जाऔं ।’

सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई अब नसहने थापाले चेतावनि पनि दिए । सभापतिका कारणले कांग्रेसका विषयमा प्रश्न उठ्ने अवस्था बनेको थापाको जिकिर छ ।

उनले भने, ‘टुल टुल हेरेर बसिन्न् । कांग्रेस बदलिन्छ । संघर्ष गर्ने हो ।’ निर्णय गर्ने पूर्ण अधिकार सभापतिलाई विधानले दिएकाले पनि समस्या भएको उनको तर्क छ ।

कांग्रेस सम्मिलित सरकारले एक पछि अर्को गलत क्रियाकलाप गरिरहेको थापाले बताए । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी, नागरिकता विधेयकको प्रमाणीकरण प्रक्रिया, प्रदेशमा मन्त्रालय टुक्राउनु, सांसद विकास कोषको व्युँताउने कार्य गलत भएको थापाले सुनाए ।

पार्टी सभापतिको बलमा सरकारले गरेका निर्णयहरु पछि मात्रै थाहा पाएको थापाले बताए ।

केन्द्रदेखि स्थानीय तहसम्म कांग्रेस सरकारमा भए पनि २०८४ सालको चुनाव हेरेर अहिले निराशा कार्यकर्तामा देखिएको उनले बताए । ‘वडा, पालिका, प्रदेशमा कांग्रेसले जितेको छ । आजको दिनमा कांग्रेस सबै भन्दा ठूलो राजनीतिक पार्टी हो । साढे चार वर्ष चुनावपछिको चुनाव हार्छौं भनेर चिन्ता व्यक्त गर्नुभएको छ,’ थापाले भने, ‘साथीहरुले सबै सकियो, गयो गयो भनिरहेको सुन्छु । सबैतिर जितेर पनि किन यस्तो भएको ?’