प्रधानमन्त्रीले गरे महाकालेश्वर मन्दिरमा पूजा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका छन्।

नयाँ दिल्लीबाट शुक्रबार इन्दोर पुगेका प्रधानमन्त्री प्रचण्डले विहान ११ बजे कालेश्वर मन्दिरमा पुगेर पूजाअर्चना गरेका थिए।

महाकालेश्वर मन्दिरलाई १२ ज्योतिर्लिङ्गमध्ये एक मानिन्छ। प्रधानमन्त्री प्रचण्ड मन्दिर पुग्दा ‘अतिविशिष्ट प्रोटोकल’ का कारण ६ घन्टासम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाइएको थियो। प्रचण्डलाई मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गरेका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार संयुक्त पत्रकार सम्मेलनमा महाकालेश्वरको दर्शनले अध्यात्मिक महसुस हुने प्रचण्डलाई विश्वास दिलाएका थिए। उनले भनेका थिए, ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डजी, भोलि इन्दोर र धार्मिक सहर उज्जैनको यात्रा गर्नुहुनेछ। मलाई विश्वास छ, तपाईँको उज्जैन यात्रा ऊर्जामयी हुनेछ र पशुपतिनाथदेखि महाकालेश्वरको यस यात्रामा तपाईँलाई अध्यात्मिक अनुभूमि मिल्नेछ।’