कसरी भयो भयानक ओडिसा रेल दुर्घटना ?

काठमाडौं । भारतको ओडिशा राज्यअन्तर्गत बालासोर जिल्लानजिकै शुक्रबार साँझ भएको भयानक रेल दुर्घटनामा २३७ जनाको मृत्यु भएको छ। ९ सय जनाभन्दा बढी घाइते छन्।

शुक्रबार साँझ ७ बजे हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस रेलवे ट्र्याकमा रहेको मालगाडीसँग ठोक्किएको थियो। केही भारतीय मिडिया रिपोर्टअनुसार उक्त ठक्करका कारण कोचहरु पटरीबाट खसेका थिए।

ती डिब्बा दुर्घटनाग्रस्त ट्र्याकबाट अर्को ट्र्याकमा सारिए। त्यहीबेला उक्त ट्र्याकमा अर्को तर्फबाट यशवंतपुर(हावडा सुपरफास्ट ट्रेन आइरहेको थियो। उक्त ट्रेन ती डिब्बाहरूसँग ठोक्कियो, यसरी २ जुनको रात तीनवटा रेल दुर्घटनामा परे।

समाचार एजेन्सी एएनआईले दुर्घटनाका विषयमा प्रत्यक्षदर्शीहरूसँग कुरा गरेको छ।

कोरोमण्डल एक्सप्रेसका एक यात्रुले भने, ‘म शालिमारबाट चेन्नई जाँदै थिएँ। दुर्घटना हुँदा म सुतिरहेको थिएँ। अचानक ठूलो आवाज आयो। ब्युँझिँदा रेल ओरालो झरिरहेको थियो।’

माथिल्लो सिटमा रहेका उनी रेल रोकिएपछि झरे। भने, ‘सबैजना यताउता दौडिरहेका थिए। मलाई बचाउनुहोस्, मद्दत गर्नुहोस् भनिरहेथे। तर त्यतिन्जेल ट्रेनको क्यान्टिनमा आगो लाग्यो, हामी भाग्यौँ।’

प्रत्यक्षदर्शीले भने, ‘कसैको हात थिएनन्। कसैको खुट्टा थिएनन्, सबैजना यसरी लडिरहेका थिए। दुर्घटना हुँदा त्यहाँ कोही थिएनन् । सबै यात्रुहरूले एकअर्कालाई सहयोग गरे। सबै डराए । त्यसबेला कसलाई बचाउने भन्ने बुद्धिले पनि काम गरिरहेको थिएन।’

दुर्घटनामा परेका अर्का प्रत्यक्षदर्शीले आफ्नो सिटमुनि दुई वर्षीय बच्चा रहेको र सबैभन्दा पहिले ध्यान त्यता गएको बताए।

उनले भने, ुहाम्रो सिटमुनि दुई वर्षको बच्चा थिए। उनी बाँचे। उनलाई र उनको परिवारलाई बाहिर निकाल्यौँ। यो कोचका मान्छेलाई खासै चोट लागेन, हामी चेन्नई जानुपर्थ्यो तर पहिले अब केरला (घर) जान्छौँ।’

दुर्घटनामा परेका अर्का प्रत्यक्षदर्शीले दुर्घटनापछि १०-१५ जना मानिस आफूमाथि खसेको बताए। उनले भने, ‘दुर्घटना हुँदा १०–१५ जना ममाथि खसे। जब म उठेँ, मेरो हात र घाँटीमा चोट थियो। ट्रेनबाट बाहिर निस्कँदा कसैको खुट्टा काटिएको थियो र कसैको हात। कसैको अनुहारभरि चोट थियो।’