मलेसियालाई हराउँदै नेपालले जित्यो सिरिज

काठमाडौँ । नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी–ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ ।

मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेपालले पाँच खेलको सिरिज ३–२ ले आफ्नो पक्षमा पा¥यो ।

मलेसियाले दिएको एक सय १० रनको लक्ष्य नेपालले १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ बलमा ६ चौकाको मद्दतमा ३४ रनको योगदान दिइन् ।

त्यसैगरी कप्तान रुविना क्षेत्रीले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाइन् । अप्सरी बेगम १५ रनमा अविजित रहँदा ज्योती पान्डेले ११ रन जोडिन् । मलेसियाका लागि हमिजा हसिमले २ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । मलेसियाका लागि वान जुलियाले ६० बलमा सर्वाधिक ४७ रन बनाइन् भने विनिफ्रेड दुराईसिङ्घमले २५ बलमा २४ रन जोडिन् ।

त्यस्तै महिराह इज्जाती इस्माइलले ३१ बलमा २० रन बनाइन् । बलिङतर्फ नेपालकी कविता जोशीले दुई विकेट लिइन भने ईश्वरी विष्टले एक विकेट झारिन् ।