प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको भनेपछि संसदमा विवाद

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भैसी चढेर भारतबाट नेपाल फर्केको बताएपछि संसदमा विवाद भएको छ ।

सुरूमै संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले १५ राँगा भारतले दिने कुरा सात वर्षअघि नै उठेको उल्लेख गर्दै अहिले आफूलाई मानिसहरूले भैंसीमा चढाएको देखिएको बताएका थिए।

संसदमा सो विषयमा विवाद भएपछि सभामुख देवराज घिमिरेले अमार्यादित शब्द नबोल्न आग्रह गर्दै सो शब्द संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन् ।

प्रधानमन्त्रीलाई प्रतिप्रश्न सोध्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनालले प्रधानमन्त्री पोखरा विमानस्थलमा उत्रिनुहुन्छ होला भन्ने आफूहरूको अपेक्षा भए पनि भैंसी चढेर आएको भन्ने कुरा सुन्नु परेको बताएका थिए।

विवाद बढ्दै गएपछि सभामुख देवराज घिमिरेले भैंसी चढेर आएको भन्ने शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। एमाले सांसद रघुजी पन्त र रास्वपा सांसद रवि लामिछानेले भैंसी चढेर आएको शब्द प्रधानमन्त्रीले नै पहिला बोलेकाले त्यसलाई हटाउनु पर्ने माग गरेका थिए।

त्यसपछि सभामुख घिमिरेले भैंसी चढेर आएको भन्ने शब्द जसले बोले पनि संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। तर एमाले र रास्वपाका सांसदहरूले प्रधानमन्त्रीले भनेको शब्द पनि हटाउनु पर्ने माग गरिरहेका छन्।