निर्वाचन कार्यालय खारेज भएको होइनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले निर्वाचन कार्यालय खारेज गर्ने मनशाय सरकारको नरहेको प्रष्ट पारेका छन् ।

सोमबार बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै अर्थमन्त्री डा. महतले छुट्टै कार्यालय नराखेर जिल्ला प्रशासन कार्यालय भित्र एउटा इकाईको रुपमा राख्न खोजेको बताए । उनले यसो गर्दा खर्च कटौती हुने विश्वास सरकारको रहेको पनि जिकिर गरे ।

उनले भने, ‘निर्वाचन कार्यालयको कुरामा कार्यलय खारेज भएको होइन् । त्यो जुन छुट्टै कार्यलय थियो त्यसको सट्टामा सिडियो कार्यलय भित्रै निर्वाचन कार्यलयको ईकाइ राख्ने र त्यसले खर्चमा केही कमी आउँछ भनेर हो । त्यति गर्दा कति नै कमी आउला भन्नुहोला त्यस्तै थोरै थारै जोडेर धेरै हुने हो । त्यस बाहेक यसमा अन्य कुनै मनसाय छैन् । हामी लोकतन्त्रको लागि लडेको जेलनेल खाएको सडकमा उत्रिएको अनि हामीनै निर्वाचन आयोगको अस्तित्व समाप्त पार्न खोज्छौं ? यसको स्वतन्त्र अस्तित्वलाई समाप्त पार्न खोज्छौं ?’