काठमाडौं । जिल्लाको दक्षिणी क्षेत्रको एक विद्यालयमा विद्यार्थी कक्षाकोठा नभएपछि विद्यालय नजिकैको खेतमा बसेर अध्ययन गर्न बाध्य छन्। गत वर्ष असोज १९ देखि २४ गतेसम्म परेको वर्षासँगैको बाढीले विद्यालय भवन र चौर भत्काएपछि विद्यालयले बाँझो जग्गामा पढाइ गर्नुपरेको हो।
यसरी खेतमा पठनपाठन गर्दै आएको सर्केगार्ड गाउँपालिका–१ को जैरको भिटा गाउँको गणतन्त्र प्राथमिक विद्यालय हो। सो विद्यालयका प्रधानाध्यापक मीनबहादुुर रावतले असोजमा गएको बाढीले विद्यालयलाई पूर्णरूपमा क्षति पुर् याएपछि त्यसयता खेतमा पढाइ गर्नुपरिरहेको गुनासो पोखे।
बाढीले ६ कोठे भवन र विद्यालयको चौर नै बगाएपछि पढाइ र वार्षिक परीक्षासमेत व्यक्तिको बाँझो खेतमा गर्नुपरेको थियो। बाढीले विद्यालयका ६ वटा कोठामध्ये तीन वटा कोठा भत्काएको र बाँकी तीन कोठामा क्षति पुुगेकाले जीर्ण अवस्थामा बनाएको छ।
विद्यालयका कागजात समेत प्र.अ. ले घरमा राख्दै आएका छन् भने विद्यार्थीको हाजिरी रजिष्टर पनि शिक्षकले आफूसँगै लिने गर्दै आएका छन्।
बालविकासदेखि कक्षा पाँचसम्म पठनपाठन हुने सो विद्यालयमा क्षति हुनुअघि १०२ जना विद्यार्थीले अध्ययन गर्दै आएकामा हाल ७८ जना मात्र छन्।
विद्यालयमा पाँच जना शिक्षक र एक जना कार्यालय सहयोगी छन्। बाढीले विद्यालयमा पठनपाठनको अवस्थालाई दयनीय बनाएको छ। शिक्षकले घाम लागेका बेला पढाइ सुरु गर्ने र पानी पर्दा विद्यालय नै बन्द गर्ने गरेका छन्। यो समस्या भएपछि विद्यालय नजिकैको होटलका दुुई वटा कोठा भाडामा लिइएको छ।
त्यहीँबाट कार्यालय र पाँच कक्षाको पठनपाठन भइरहेको छ। यो समस्या भएपछि वडाले दुुई कोठे भवनका लागि बजेटको व्यवस्था यसै आर्थिक वर्षमा गरे पनि विद्यालय व्यवस्थापन समिति र स्थानीयले चासो नदिएपछि भवन निर्माणसमेत हुन सकेको छैन।
Add Comment