सांसद घिमिरेको चेतावनी : पार्टीको समर्थनले मात्रै प्रधानमन्त्रीमा टिकिरहन्छु भन्ने नसोच्नुस्

काठमाडौं । नेपाली काँग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पार्टीको समर्थनले मात्रै प्रधानमन्त्रीमा टिकिरहन्छु भन्ने नसोच्न चेतावनी दिएका छन्।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद घिमिरेले यस्तो चेतावनी दिएका हुन्।

उनले पार्टीको समर्थन पाएर मात्रै प्रधानमन्त्रीमा टिकिरहन्छु भन्ने नसोच्न प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिए। उनले मुलुकको बजेटमा सांसदहरुको पनि अधिकार रहेको बताए।

‘विगतको इतिहास हेर्नुभएकै छ। आफ्नै बहुमतको सरकार असफल भएको,पार्टी फुटेको। पार्टी भित्रै पनि चरम गुटबन्दी मौलाएको। हेक्का रहोस् यो गठबन्धको सरकार हो,’ उनले भने।

उनले प्रचण्ड नेतृत्वको सरकारबाट अपेक्षा गरे अनुरुपको बजेट आउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा बजेट विनियोजन गराउन मन्त्रालय धाउँदाधाउँदा जुत्ताको तलुवा खिएको तर केही नपाएको उनको गुनासो छ।

उनले आफ्नै दल नेपाली कांग्रेसका नेताहरूको पनि आलोचना गरे। काँग्रेसलाई ठूलो पार्टी बनाउन आफूजस्तै सांसदहरुको पनि भुमिका भएको भन्दै यसरी पार्टी जोगाउन नसकिने बताए।