‘तथ्याङ्कमा जातजातिलाई फुटाउने काम हुँदैन’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा रहेका जातजातिलाई तथ्याङ्कमा नाममा फुटाउने काम नहुने बताएका छन् ।

नेपाल मगर सङ्घले भूम्या पर्व –२०८० का अवसरमा आज खुलामञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “फुटाउने काम हुँदैन, देशलाई जातिलाई फुटाउन हुँदैन भन्नेमा म स्पष्ट छु ।”

प्रधानमन्त्री दाहालले मगरलगायत अरु आदिवासी समुदायलाई केन्द्रीय तथ्याङ्क कार्यालयले जनगणनाका क्रममा विभाजित गरेको गुनासो आफूसमक्ष आएको र त्यसलाई सच्याउन निर्देशन दिने बताए ।

“जनगणना सार्वजनिक गर्ने क्रममा मगर जातिलाई फुटाइएको भन्ने गुनासो आदिवासी जनजाति महासङ्घका तर्फबाट पनि आएको छ, पुनमगर मगर होइनन् भन्ने किसिमबाट जनगणनाको तथ्याङ्क सार्वजनिक भयो भन्ने मलाई थाहा थिएन”, उनले भने, “महासङ्घले मलाई जानकारी दिएपछि मैले भनिसकेको छु । केन्द्रीय तथ्याङ्क कार्यालयका प्रमुख विदेश भ्रमणमा भएकाले उहाँ स्वदेश फर्किएपछि त्यसलाई स्पष्ट गर्ने र सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

सबै जातजातिमध्ये मगर समुदायमा विचार, नेतृत्व र नेताको रक्षामा प्रतिबद्ध पाइएको भन्दै प्रधानमन्त्री दाहालले मगर समुदायको व्यक्तिलाई राष्ट्रकै सम्मानित पद उपराष्ट्रपति र सभामुख बनाइएको बताए।

“जातजाति, भाषाभाषी, वर्ग, समुदाय सबैको पनि हित यसैमा छ । यस्ता पर्व मनाउनुको तात्पर्य नयाँ राष्ट्रिय एकता कायम गर्दै प्रकृतिलाई विनाश हुन नदिने अनावृष्टि, अतिवृद्धि, खण्डवृष्टि हुन नपाओस्, जलवायुको संरक्षण गर्ने कुरासँग पनि यो पर्व सम्बन्धित छ”, प्रधानमन्त्री दाहालले भने।

प्रकृतिका संरक्षण, सम्मान र संवर्द्धन गर्ने पर्वका रूपमा भूमेपर्व रहेको उल्लेख गर्दै उहाँले यसपर्व मावन जातिकै हितसँग सम्बन्धित भएको बताए। “सिङ्गो मानव समुदायलाई राम्रो बनाउने उद्देश्यद्वारा यस पर्व प्रेरित छ”, उनले भने ।