काभा भलिबल : पहिलो खेलमै मंगोलियासँग पराजित भयो नेपाल

काठमाडौं । कीर्गिस्तानको बिस्केकमा सुरु भएको काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल पहिलो खेलमै मंगोलियासँग पराजित भएको छ ।

बिस्केकस्थित चोल्फन-अतामा रहेको स्पोर्ट्स एण्ड रिक्रिएसन कमप्लेक्स गाज्प्रोममा भएको खेलमा नेपाल मंगोलियासँग ३-१ सेटमा पराजित भएको हो ।

मंगोलियाले नेपाललाई २५-१९, २५-२०, २५-२७ , २५ -२० ले हराएको हो ।

नेपालले सन् २०१८ को एसियन गेम्समा मंगोलियालाई ३-१ को सेटमा हराएको थियो ।

तर पाँच वर्षपछि पेरि भेट हुँदा भने मंगोलियाले नेपालसँग त्यो हारको बदला लियो ।

नेपालले नयाँ कप्तान हरि हजुरको नेतृत्वमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेको हो ।

मंगोलिया विरुद्ध नेपालका हेमन्त मल्ल र भीम गाहा मगरले डेब्यु गरे ।

काभा नेसन्स लिगमा नेपालले सोमबार घरेलु टोली कीर्गिस्तानसँग खेल्ने।