प्रहरी जवानदेखि हवल्दारलाई १६ वर्षमा अवकाश दिईने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीका जवान-हवल्दारलाई १६ वर्षमै अवकाश दिने प्रस्ताव गरिएको बताएका छन्।

आइतबार प्रतिनिधि सभा सदस्यको बैठकमा बोल्दै उनले प्रहरी जवान, प्रहरी सहायक हवल्दार र प्रहरी हवल्दारलाई १६ वर्षमै अवकाश प्राप्त हुने व्यवस्था प्रस्ताव गरिएको बताएका हुन्।

यस्तै असई र सईको हकमा भने १८ वर्षमा अवकाश लिने र २० वर्षमा पेन्सन लिनसकिने व्यवस्था गर्न लागिएको बताए।

‘१६ वर्ष सेवा अवधि पुगेका जवान, सहायक हवल्दार र हवल्दार सम्मलाई २० वर्षमा पेन्सन लिने गरी १६ वर्ष सेवा अवधि पुगेपछि रिटायरमेन्ट दिने, १८ वर्ष सेवाअवधि पुगेपछि असई र सईहरूलाई रिटायरमेन्ट दिने र २० वर्ष पुग्दा पेन्सन दिने व्यवस्था लागु गर्ने बारेमा गृहमन्त्रालयले आफ्नो तर्फबाट यसअघि नै प्रस्ताव सरकारको अन्य सम्बन्धित मन्त्रालयमा पठाइसकेको छ,’ उनले भने।

प्रहरीको जवान देखि सई सम्मका वर्षौं सम्म एउटै पदमा बसिरहनुपर्ने बाध्यता भएको बताउँदै यस्तो व्यवस्था ल्याउन लागेको बताएका हुन्। माथिल्लो दर्जाका प्रहरीहरू एसएसपी देखि आइजिपीसम्म ९ महिनामै हुने बताउँदै तल्लो दर्जाका प्रहरीहरू भने १८-१९ वर्षसम्म पनि एउटै दर्जामा बस्न बाध्य भएको उनले बताए।

‘प्रहरी संगठनभित्र विशेषत प्रहरी जवान, सहायक हवल्दार, हवल्दार, असई, सईहरूको प्रोत्साहनको व्यवस्था राम्रो छैन। उनीहरूको पदोन्नतिको व्यस्था राम्रो छैन,’ उनले भने,‘र तपाईं हामीले यहीँ देखिराखेका छौं। ९ महिनामा एसएसपीबाट डिआइजी, डिआइजीबाट एआइजी र एआइजीबाट आइजिपी हुने माथिल्लो तहको त्यसप्रकारले हुने गरेको छ भने १८-१९ वर्षसम्म एउटै पदमा जवानमा रहिरहेको, हवल्दारमा भइरहेको, असई भइरहेकाले पीडित अवस्थामा छन्।’

उनले पूर्वगृहमन्त्री रवि लामिछाने र प्रहरी महानिरीक्षक समेतले सुझावहरू दिएको बताए। जसअनुसार प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने पनि बताए।

उनले सर्वोच्चको आदेश अनुसार कानुनमै व्यवस्था गर्न मस्यौदामा प्रस्ताव गरिसकेको पनि बताए। उक्त कानुनलाई पनि प्रतिनिधि सभामै ल्याइने बताए।