‘गौरीभक्त बाबा’ भनिने काफ्ले भारतको हरिद्वारबाट पक्राउ

काठमाडौं । ‘शिवसुतक गौरीभक्त बाबा’ भनिने पुरुषोत्तम काफ्ले पक्राउ परेका छन् ।

प्रहरीका उच्च अधिकृत र राजनीतिक दलका नेताहरुसँग निकट सम्बन्ध रहेको भन्दै विभिन्न व्यक्तिहरुबाट रकम ठगी गरेको आरोपमा काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोलीले भारतको हरिद्वारबाट पक्राउ गरी सोमबार काठमाडौं ल्याइएको सीआईबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् ।

काफ्लेविरुद्ध २ करोड ६९ लाख रुपैयाँ ठगेको आरोप छ । पीडितहरुबाट उजुरी आउने क्रम जारी रहेकाले उनले ठगेको रकमको परिणाम थप बढ्ने सीआईबीका एक अधिकृतले बताए ।

उनले विभिन्न नेताहरु, नेपाल प्रहरीका बहालवाला तथा पूर्व अधिकृत लगायतसँग फोटो खिचाउने र त्यही फोटो देखाएर विभिन्न व्यक्तिहरुका काम गराइदिने भन्दै रकम असुल्ने गरेको पाइएको सीआईबी स्रोतले बतायो ।

उनीविरुद्ध उजुरी परेपछि प्रहरीले खोजी सुरु गरेको थियो । प्रहरीले उनलाई भारतको उज्जैन, जयपुर हुँदै हरिद्वारसम्म पछ्याएर नियन्त्रणमा लिएको हो । उनलाई नियन्त्रणमा लिन सीआईबीले डिएसपी नेतृत्वको टोली हरिद्वार पठाएको थियो । उनलाई सीआईबीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।