कसौँडीमा पकाउने चामल खड्कुलोमा पकाउँदा पनि पुग्दैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेटको स्रोत कम भएकोले सबैलाई समेट्न नसकेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रममा अर्थमन्त्री महतले बजेटमा धेरैको चाहना पु-याउन नसकेको तर अर्थतन्त्रलाई चलायमान गर्ने गरि निष्पक्ष भएर बजेट ल्याएको बताएका हुन् । उनले कसौँडीमा पकाएको चामल आकारको सानो बजेटको स्रोतले सबै जन्तीलाई भाग पु-याउन नसकेको धारणा राखे । तर, उनले भएको स्रोतले जायज कुरालाई सम्बोधन गरेको पनि दावी गरे ।

‘अहिले मैले सरकारको तर्फबाट बजेट प्रस्तुत गरेँ । अनेकौँ खाले अन्योलताको बीचमा दुई महिनामा मैले बजेट ल्याउनुपर्ने स्थिति थियो । तर मैले दृढ निश्चय गरेर जे जायज छ, जे उपयुक्त छ, जसले यो अर्थतन्त्रलाई चलायमान गर्न सक्छ,त्यसलाई मध्यनजर गरेर कसैको मुख नहेरीकन कसैलाई फाइदा पु-याउने,कसैलाई बेफाइदा पुग्ने गरी होइन, आमनागरिकलाई भलो हुने गरि अर्थतन्त्र चलायमा नहुने, राजश्वलाई वैज्ञानिक ढंगबाट करको दायरामा नआएकाहरूलाई दायरामा ल्याउने गरी बजेट ल्याएको छु ।’

उनले बजेटमा कुनै पक्ष र विपक्षलाई फाइदाहुने वानहुने गरि भन्दापारदर्शीतालाई ध्यानमा राखेर सम्बोधन गरेको उल्लेख गरे । ‘मैले कसैलाई फाइदा पु-याउने गरी होइन, आमनागरिकको विकास, सुशासन र पारदर्शीताको सुनिश्चितताको जुन आकंक्षा राखेका छन् त्यसलाई मध्यनजर राखेर कुनै पनि लोभ मोह नराखिकन बजेटलाई अगाडि बढाइयो ।’ उनले भने ।

त्यस्तै,अर्थमन्त्री महतले संयुक्त सरकारमातान्ने र धकेल्ने प्रवृति रहेको भन्दै बजेटबारे सबैको चाहनालाई सानो स्रोतले पूर्ति गर्न नसक्दा असन्तुष्टि आएको स्पस्ट पारे । उनले भने, ‘यो संयुक्त सरकार हो, विभिन्न चाहना, मागहरु र तान्ने र धकेल्ने अवस्थामा एकातिर तान्यो अर्कोतिर खुस्किने, एउटा कसौँडीमा पाक्न सक्ने चामल छ, अब जन्ती बराबरलाई खुवाउनु परेको खण्डमा के हुन्छ ? आम्दानी र सरसामान छ कसौँडीमा पकाउने बराबरको,सबैको चाहना पूर्ति गर्न ठूलो खड्कुलोमा पकाउँदा पनि पुग्दैन त्यो अवस्थामा के हुन्छ,सबैको भावनाको सम्बोधन गर्न सकिँदैन ।’