बालेनले व्यङ्गय गर्दै गगनलाई भने : बोलेको कुरा पूरा गर्नुस्

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले कांग्रेस महामन्त्री एवम् सांसद गगन थापाले एक दिन अघि शैक्षिक संस्थालाई राजनीतिबाट बाहिर राख्नुपर्ने भनेर दिएको अभिव्यक्ति पूरा गरेर देखाउन आग्रह गरेका छन् ।

महामन्त्री थापाले गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दै दलको झोला बोकेर विश्वविद्यालय छिर्न रोक लगाउनुपर्ने बताएका थिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयलगायत शैक्षिक संस्थामा राजनीतिलाई अलग राख्न निर्णायक भूमिका खेल्नुपर्ने बताएका थिए ।

थापाले बोलेपछि पुरा गर्न आग्रह गर्दै मेयर बालेनले काठमाडौं महानगर भित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालयमा कांग्रेसको कुनै पनि भातृ संगठन नभएको घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, ‘माननीय गगन थापाज्यु, दलको हिजो एक कार्यक्रममा, झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भनेर त भन्नुभयो, नेपाली कांग्रेसको महामन्त्रीज्युले नै भनेपछि,
काठमाडौं महानगर भित्रका सबै विद्यालय , शिक्षण संस्था , कार्यलय , सबै तिर काङ्रेस पार्टीको कुनै पनि भात्री सँगठन नभएको घोषणा गर्दछौँ ।’

काठमाडौं महानगरका शैक्षिक संस्थामा राजनीतिक गतिविधिलाई अलग राख्न महानगरले प्रयास गर्दै आएको छ ।

यस्तो छ बालेनको स्टाटस