टिप्परको ठक्करबाट आमा–छोरीको मृत्यु

काठमाडौं । सुनसरीको इटहरीमा टिप्परको ठक्करबाट घाइते भएकी २२ वर्षीया युवतीको पनि उपचारका क्रममा मृत्यु भएको थियो।

मंगलबार दिउँसो इटहरीको मुख्य चोकमा ना १ ख १९०७ नम्बरको कान्छाराम कन्ट्रक्सनको टिप्परले आमा–छोरी सवार को १४ प ५२४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

टिप्परको ठक्करबाट इटहरी उपमहानगरपालिका–८ की ३९ वर्षीया सरिता चौधरीको घटनास्थलमै मृत्यु भएको थियो। सरिताकी छोरी २२ वर्षीया अनुष्का गम्भीर घाइते भएकी थिइन्।

गम्भीर घाइते अनुष्काको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। अनुष्काको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

टिप्परको ठक्करपछि स्थानीय प्रदर्शनमा उत्रिएका थिए। स्थानीय प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा मंगलबार साँझसम्म नै इटहरी तनावग्रस्त बनेको थियो।