घोराही सिमेन्टको आइपिओमा फसेको रकम असार भित्रै खुला गरिने

काठमाडौं । धितोपत्र बोर्डले अध्ययन सकिए पनि नसकिए पनि घाराही सिमेन्टको आइपिओमा फसेको लगानीकर्ताको रकम असार मसान्तभित्रमा खुला गर्ने भएको छ।

‘केही दिनमा नै अध्ययन प्रतिवेदन तयार हुने मेरा कर्मचारीहरूले जानकारी दिनुभएको छ,’ धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले भने, ‘प्रतिवेदनले आइपिओ यथावस्थामै सुरू गर्न सकिने निष्कर्ष निकालेमा कुरा सक्किहाल्यो। तर, अध्ययन प्रतिवेदन समयमा पेश भएन, वा कारबाही गर्नुपर्ने देखियो वा थप अनुसन्धानको आवश्यकता देखियो भने असार मसान्तसम्ममा रकम खुला गरिदिनेछौं।’

असारअन्त्यमा वार्षिक विवरण तयार गर्नुपर्ने, कर तिर्नुपर्ने भएकोले लगानीकर्तालाई यस्तो समयमा समस्यामा नपार्ने हमालले बताए।

बोर्डले अनुसन्धानको लागि भन्दै असार ४ गते कम्पनीको सेयर निष्कासन प्रक्रिया तत्काललाई रोक्का गरेको थियो।

कम्पनीको सेयरमा ५ लाख ६२ हजारभन्दा धेरैले ९ अर्ब ८३ करोड रूपैयाँ बराबर रकमको आवेदन दिएका थिए।

कम्पनीको सेयरमा धेरै आवेदन परेको देखाउन सुरूमा केही दिनमा फर्जी आवेदन हालेको पाइएपछि निष्कासन तत्काललाई रोक्का गरिएको थियो।

कम्पनीको रेटिङ गरेको केयर रेटिङ र सेयर प्रत्याभूतिकर्ताको रुपमा रहेको नागरिक लगानी कोषमाथि पनि धितोपत्र बोर्डले अनुसन्धान अगाडि बढाएको छ।

कम्पनीको सेयर बिक्री प्रबन्धकहरूमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ रहे पनि सेयर प्रत्याभूतिकर्ताको काम कोषमार्फत् गरिएको बुझिएको छ।

कम्पनीले प्रिमियम सहित प्रतिसेयर ४३५ रुपैयाँका दरले आइपिओ बिक्री गरिरहेको थियो। सर्वसाधारणको लागि कम्पनीले ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गरेको हो।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।