उपभोक्ता समितिका अध्यक्षलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

काठमाडौं । उपभोक्ता समितिका अध्यक्षलाई कुटपिट आरोपमा माछापुच्छ्रे गाउपालिका८ का वडाध्यक्ष राम गुरुङ पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।

उजुरीको आधारमा वडाध्यक्ष गुरुङलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

वडाध्यक्ष गुरुङले हातपात गरेको भन्दै उपभोक्ता समितिको अध्यक्ष अमृत भण्डारीलेले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

कांग्रेसबाट वडाध्यक्ष बनेका गुरुङले उपभोक्ता समितिको अध्यक्ष अमृत भण्डारीलाई हातपात गरेको भन्दै नेकपा एमाले माछापुच्छ्रे ७ र ८ वडा कमिटीले मंगलबार वडा कार्यालयमा तालाबन्दी गरेको थियो । तर, जाहेरी दर्ता भएपछि एमालेले वडा कार्यालय लगाएको ताला बुधबार खोलेको थियो ।