प्रधानमन्त्री कप : खेलाडीले दर्शक कुटेपछि भलिबल संघले छानबिन गर्दै

काठमाडौँ । सातौँ प्रधानमन्त्री कप एनभिए राष्ट्रिय भलिबल लिगका दौरान सोमबार भएको गण्डकी प्रदेश र आर्मीबीचको अन्तिम समयको खेल तनावपूर्ण रह्यो। खेलका दौरान त्रिभुवन आर्मी क्लबका खेलाडीले दर्शकमाथि हातपात गरेपछि नेपाल भलिबल संघले एक छानबिन समिति गठन गरेको छ।

भलिबल संघको कार्यसम्पादन समितिको सोमबार साँझ बसेको बैठकले संघका महासचिव तथा प्रतियोगिता संयोजक रोशन श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको हो।

छानविन गरेर असार ३० गतेभित्र प्रतिवेदन बुझाउन समितिलाई जिम्मेवारी दिएको छ।

समितिमा सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन रहेका छन्। भलिबल संघले सोमबार भएको घटनालाई गम्भीर रूपमा लिएको भन्दै छानबिन गरेर दोषिलाई कारबाही गर्ने जनाएको छ।

गण्डकी प्रदेश र एक समर्थकले आर्मीका खेलाडीको नाम नै तोकेर कारवाहीको माग राख्दै संघमा निवेदन दर्ता गराएका छन्। तनावपूर्ण खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३-० ले हराएको थियो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा भएको खेलमा आर्मी २५-१९, २६-२४ र ३३-३१ ले विजयी भएको थियो। तेस्रो सेटको अन्तिम समय भने निकै तनावपूर्ण बनेको थियो।

खेलमा आर्मी २३-२४ को अवस्थामा गण्डकीका खेलाडीले प्रहार गरेको स्पाइक आउट भए रेफ्रीले आउटको इसारा दिएपछि खेलमा २४-२४ को बराबरी भएको थियो।

तर गण्डकीका खेलाडी ब्लकको समयमा आर्मीका खेलाडीलाई लागेर गएको दाबी गरेपछि विवाद सुरु भएको थियो।

गण्डकीका खेलाडीले रेफ्रीको त्यो निर्णयको विरोध जनाइरहँदा एक समर्थकले कोर्टमा रहेका आर्मीको टोलीमाथि पानीको बोतल प्रहार गरेपछि आर्मीका खेलाडी समर्थक पिट्न दर्शकदीर्घामै पुगेका थिए। उनले त्यही गएर समर्थकमाथि हातपात गरेका हुन्।