धम्कीले आए पनि रोकिन्न, ८ सय डाक्टरलाई दरबन्दीकै स्थानमा पठाउँछु : स्वास्थ्यमन्त्री

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दीअनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन्।

बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन्।

उनले दरबन्दीबाहिर जिल्लामा हुने तर स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरुको व्यवस्थापन गर्ने जोखिम रहेको बताए।

उनले आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउन लागेको बताए। उनले दरबन्दी अनुसारको डाक्टरहरु व्यवस्थापन गर्ने काम पार लगाएरै छोड्ने बताए।

उनले स्वास्थ्यमा डाक्टर व्यवस्थापनको चिरफार गरेर नै छाड्ने प्रतिबद्धता जनाए। स्वास्थ्यमन्त्री बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभूत स्वास्थ्य सेवा ग्रामीण स्तरसम्म स्वास्थ्यकर्मीहरुको पहुँच नभएको स्थानमा डाक्टरहरुको पहुँच पुर्‍याएरै छोड्ने बताए। उनले ८ सय डाक्टरहरु मन्त्रीहरुको पालामा काजमा स्वास्थ्य मन्त्रालय बसेको भन्दै त्यसमा दरबन्दी अनुसारको क्षेत्रमा पठाउने काम गर्ने बताए।

उनले ८ सय डाक्टरको दरबन्दी अनुसारको क्षेत्रमा पठाउन सकिनँ भने स्वास्थ्य मन्त्रालय सुधार हुने अवस्था नभएको बताए। उनले कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएको भरमा मिल्ने अवस्था नभएको भन्दै यसलाई अप्रेशन गर्नुपर्ने बताए।

उनले भने, ‘८ सय डाक्टरहरु स्वास्थ्य मन्त्रालयमा काजमा बसेका छन्। म जस्तै मन्त्रीहरुले राखेका हुन्। मैले एकजना पनि ल्याएको छैन। कर्मचारी व्यवस्थापन कडाइका साथ कदम चालेन भने स्वास्थ्य मन्त्रालय सुधार गर्नसक्ने अवस्था छैन। अब चल्नेवाला छैन। कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएको भरमा मिल्नेवाला छैन। यसलाई अप्रेशन गर्नुपर्ने अवस्था छ।’

उनले सबै डाक्टरहरुलाई राजधानी मात्रै चाहिएको अवस्था रहेको बताए। उनले दरबन्दीअनुसार व्यवस्थापन गर्न खोज्दा आत्महत्या गर्नेसम्म विषयहरु आएको बताए।