फार्मेसीमा हिनामिनाबारे अनुसन्धान भएपछि पोख्रेलले आत्महत्या गरेको खुलासा

काठमाडौं । महाराजगञ्जस्थित मनमोहन कार्डियो थेरासिस एन्ड भास्कुलर सेन्टरका फार्मेसी प्रमुख अमृत पोख्रेलले आफूमाथि फार्मेसीमा हिनामिनाबारे अनुसन्धान भएपछि आत्महत्या गरेको खुलेको छ ।

हिनामिनाबारे अस्पताल प्रशासनले उनलाई हिजो मात्रै स्पष्टीकरण सोधेको खुलेको छ । उनलाई जिम्मेवारीबाट हटाएर स्पष्टीकरण सोधिएको थियो ।

पोख्रेलले सुसाइड नोटमा भने आफूलाई फसाउन खोजिएको र माथिल्लो तहका कार्मचारी बच्न खोजेको आशयको पत्र लेखेको भेटिएको छ । पोख्रेलका आफन्तजनले अझै शव उठाएका छैनन् ।

उनकी श्रीमती मनिका कोइराला पनि सोही अस्पतालमा नर्स छिन् ।

काठमाडौं प्रहरी परिसरका एसपी सिताराम रिजालका अनुसार अर्घाखाँची सितगंगा नगरपालिकाको सिद्दाराका ३५ वर्षीय पोख्रेल अस्पतालभित्रै दुई तलामाथि स्टोर रुमको भर्‍याङमा घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा शुक्रबार बिहान ७ बजेर ४५ मिनेटमा फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।