एमाले र जसपा अडानबाट पछि हटे, मिटरब्याज सम्बन्धी विधेयक पारित हुने

काठमाडौँ । मिटरब्याजी समस्या समाधानका लागि सरकारले ल्याएको अध्यादेश प्रतिस्थापन विधेयक आइतबार पारित हुने भएको छ।

असार २० गते नै पारित हुुनुपर्ने भए पनि रोकिएको विधेयकमा विपक्षी एमाले र सत्तारुढ जसपा आआफ्नो अडानबाट पछि हटेका छन्। एमाले र जसपाले अडान छाडेसँगै आइतबार नै विधेयक पारित हुने भएको हो।

एमालेले असार २० गतेभित्र प्रतिस्थापन विधेयक पारित नभएपछि प्रचलित संसदीय अभ्यास र प्रतिनिधिसभामा नियमावली २०७९ को नियम ९९ अनुसार विधेयक निष्क्रिय भइसकेकाले पारित गर्न नमिल्ने बताउँदै आएको थियो। तर जटिलस्थितिका कारण आफूहरु पछि हटेको एमाले प्रमुख सचेतक पदम गिरीले बताए। उनले भने, ‘हामीले कानुनी कुरा उठाएका थियौँ। तर विशिष्ट परिस्थितिका कारण सहमति भयो। आज विधेयक पारित हुन्छ।’

त्यस्तै विधेयकमा रहेका प्रावधानप्रति असहमति राख्दै आएको सत्तारुढ जसपा पनि विधेयकको पक्षमा उभिन निर्णयमा पुगको सचेतक प्रदीप यादवले जानकारी दिए। आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विधेयक पारित हुने र आफ्नो पार्टी पक्षमा उभिने उनले बताए।

कार्यव्यवस्था परामर्श समितिको बैठकपछि यादवले भने, ‘आज मिटरब्याजी विधेयक अघि बढ्छ। म त्यसको पक्षमा बोल्छु।’

सभामुख देवराज घिमिरेले विधेयकमाथि आइतबार नै दफावार छलफल गर्ने, प्राप्त संशोधन निर्णयार्थ पेश गर्ने र पारित गर्ने कार्यसूची सार्वजनिक गरको छन्। प्रतिस्थापन विधेयक सरकारले असार ५ गते राष्ट्रियसभामा पेश गरेको थियो।