भोलिदेखि नेपालमा विदेशी च्यानलको प्रसारण बन्द हुने

काठमाडौं ।भोलिदेखि (साउन १) नेपालमा विदेशी च्यानलको प्रसारण बन्द हुने भएको छ।

सूचना तथा प्रसारण विभागले एक विज्ञप्ति निकालेर उपभोक्ताको हितका लागि ल्याइएको ‘आलाकार्ट प्रणाली’अनुसार विदेशी टेलिभिजन वितरकले शुल्क पेश नगरेको भन्दै साउन १ गतेदेखि विदेशी च्यानल बन्द हुन लागेको जनाएको हो।

विभागले उपभोक्ताले जति च्यानल हेर्छन् त्यति नै बापतको शुल्क मात्र लगाउन पाउने व्यवस्था गरे पनि कार्यान्वयन गर्न नेपालमा प्रसारण अनुमति लिएर बेच्दै आएका विदेशी च्यानल वितरकले अस्वीकार गर्दै आएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०७९ मै च्यानलको शुल्क प्रणालीमा सुधार गरी ‘आलाकार्ट प्रणाली’ लागू गर्ने निर्णय गरेको थियो।

आलाकार्ट शुल्क प्रणाली भनेको उपभोक्ताले आफूले हेर्न चाहेको च्यानलको मात्र शुल्क तिर्ने प्रणाली हो। जसअनुसार मन्त्रालयले च्यानलको मेनु र तिनको मासिक शुल्क प्रस्ताव गर्न वितरकलाई भनेको थियो। तर वितरकले मन्त्रालयलाई त्यो दररेट दिएनन्।

मन्त्रालयले पछिल्लोपटक असार १७ गते वितरकहरूलाई पत्राचार गर्दै साउन १ बाट नयाँ प्रणाली लागू गर्ने भएकाले असार २८ भित्र शुल्क प्रस्ताव गर्न ताकेता गरेको थियो।

बारम्बारको ताकेतापछि पनि वितरकबाट च्यानलको मेनु दर प्राप्त नभएकाले सबै सशुल्क विदेशी च्यानलको प्रसारण बन्द हुने अवस्था आएको विभागको भनाइ छ।

टेलिभिजन दर्शकले आधारभूत प्याकेजका लागि २५० प्रति महिना र सस्शुल्क च्यानलसमेत गरी अधिकतम कुल पाँच सय प्रतिमहिना तिर्नुपर्ने प्रावधान छ।

त्यसैगरी सेवा प्रदायकले हाल इन्टरनेट र टेलिभिजन च्यानलसमेत गरी लिइराखेको कुल शुल्कमा थप गरी शुल्क बढाउन पाउने छैनन्।

यो नयाँ व्यवस्थाअनुसार उपभोक्ताबाट उठाउन सकिने प्रतिच्यानलको मूल्य सञ्चार मन्त्रालयले निर्धारण गर्नेछ।