ललिता निवास प्रकरण : आरोपितलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं ।  जिल्ला अदालत काठमाडौंले सञ्चार सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह र भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप ५ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको छ।

ललिता निवासको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको बनाएको अभियोगमा अदालतले उनीहरुलाई म्याद थप गरेको हो।

सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेसी चढिरहँदा उनीहरुलाई भने थप थुनामा राख्ने अनुमति दिएको हो। यो चौथो पटक म्याद थप भएको हो।

यसअघि पनि अदालतले पहिलो पटक ७, दोस्रो पटक पनि ७ र तेस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले कीर्तेसँगै संगठित अपराधमा म्याद थप गरिरहेको छ। ६० दिनसम्म अनुसन्धानको म्याद हुने भएकाले सीआईबीले उक्त अभियोगमा रुपान्तरण गर्दै म्याद थप गरिरहेको हो।