फोहोर लिएर गएको सवारी साधन एकाविहानै सिसडोलमा रोकियो

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर वोकेर गएको सवारी साधन एकाविहानै देखि अवरोधमा परेको छ । ककनी गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि बजेट प्रस्तुत गरिरहँदा काठमाडौंबाट फोहोर वोकेर गएका सवारीहरुलाई प्रत्येक पटक एक हजार पाँच सय रुपैयाँ संकलन गर्ने निर्णय गरेको थियो । यद्यपी सवारीबाट उठाउने करका कारण फोहोर रोकिएको भने होइन । सिसडोल सडक खण्डमा फोहोरको सवारी साधन अवरोध गर्न पुगेका स्थानीयहरुले बस्तीमा झिँगा बढेकोले फोहोरको सवारी साधन रोकेको बताएका छन् ।

सवारी रोकिएको स्थानमा प्रहरी पुगेपनि फोहोरको गाडीलाई अगाडि बढ्न दिएको छैन । सडकमा कालो व्यानर टाँगेर स्थानीय केही व्यक्तिहरुले अवरोध पु¥याएका हुन् । सो स्थानबाट कि बस्ती हटाउनु पर्ने कि भने फोहोर फाल्न नदिने उनीहरुको माग छ ।

फोहोर वोकेर गएका सवारी साधन रोकिएको र कुन बेला खुल्ने हो ठेगान नभएको फोहोर व्यवस्थापन संघ, नेपालमा महासचिव मित्र प्रसाद घिमिरेले जानकारी दिएका छन् । हरेक वर्ष फोहोर माथि राजनीति हुने गरेका कारण फोहोरका सवारी रोकिँदै आएको छ । सिसडोलमा स्थानीयबासीहरुका नाममा समूह गठन गरी समय समयमा विभिन्न माग राखि फोहोर रोक्ने कार्य विगतदेखि नै हुँदै आईरहेको छ । आर्थिक वर्षको शुरुवातीसँग गरिएको अवरोध कुनै सहमतिमा टुङिन्छ वा स्वार्थ मिलेपछि त्यो भने यसै भन्न सकिँदैन ।

काठमाडौंको फोहोर वोकेर गएको प्रत्येक सवारीबाट एक हजार पाँच सय रुपैयाँ संकलन गर्ने ककनी गाउँपालिकाको निर्णयमाथि विभिन्न राजनीतिक दलहरुले समेत आपत्ति जनाएको अवस्था छ । यसले गाउँपालिकाले सो निर्णय फिर्ता लिनु पर्ने देखिन्छ । सिसडोलको समस्या समाधान गर्न विगतदेखि नै फोहोर व्यवस्थापनको जिम्मेवारी लिएको काठमाडौं महानगरपालिकाले शिक्षा, स्वास्थ्य, विकास लगायत विभिन्न योजनाहरु उपलब्ध गराएको मात्र होइन क्षतिपूर्ति समेत उपलब्ध गराउँदै आएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।