युक्रेनले विस्फोटक पदार्थ खसाएर ध्वस्त बनाइदियो रुसी ट्यांक

काठमाडौं । युक्रेनले सोमबार रुसी ट्यांक ध्वस्त बनाएको भिडियो सार्वजनिक गरेको छ । एक महिनाको अन्तरालमा युक्रेनी सेनाले दोस्रोपटक रुसी ट्यांकमा आक्रमण गरेको भिडियो सार्वजनिक गरेको हो ।

यसअघिजस्तै सोमबार पनि युक्रेनी सेनाको ५७ औँ मेकनाइज्ड ब्रिगेडको ४२०औँ बटालियनले रुसी ट्यांकलाई बाख्मुतमा विस्फोटक पदार्थले आक्रमण गरी नष्ट गरिदिएको हो ।

सार्वजनिक भिडियो ड्रोनबाट खिचिएको हो र भिडियोमा ट्यांकमाथि बम खसेको स्पष्ट देख्न सकिन्छ । रुसी सेनाको कब्जामा गएको बाख्मुतमा ट्यांकमाथि आक्रमण भएको युक्रेनी सेनाको भनाइ छ ।

यसअघि भने बाख्मुतबाट केही किलोमिटर टाढा रुसी ट्यांकमा आक्रमण गरिएको थियो । ट्यांकमा आक्रमण गरेपछि चार रुसी सेना त्यहाँबाट निस्किएको र उनीहरूलाई पनि लखेटी–लखेटी आक्रमण गरिएको भिडियो सार्वजनिक भएको थियो ।

केही समययता युक्रेनले रुसविरुद्ध जवाफी आक्रमण गरिरहेको छ । तर, त्यो आक्रमणलाई रुसले विफल बनाइरहेको दाबी गर्छ । युक्रेनले रुसी ट्यांक ध्वस्त बनाएको भिडियो सार्वजनिक गरिरहँदा रुसले पनि युक्रेनका ट्यांकहरू नष्ट गरिदिएको भिडियो सार्वजनिक गरेको छ ।

रुसका अनुसार जर्मनीले युक्रेनलाई दिएको लियोपार्ड ट्यांकहरू सबै नष्ट भइसकेका छन् । जर्मनीले ८० वटाभन्दा बढी लियोपार्ड ट्यांक युक्रेनलाई दिएको अनुमान छ । रोयटर्सको सहयोगमा