खैरो हेरोइनसहित दुईजना पक्राउ

काठमाडौं । मोरङका अलगअलग स्थानबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर र पथरीशनिश्चरे नगरपालिकाबाट मंगलबार साँझ १–१ जना पक्राउ परेका हुन् ।

विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट सुनसरीको धरान उपमहानगरपालिका–३ का २६ वर्षीय सागर सहनी पक्राउ परेका छन् । भारतको जोगवनीबाट नेपालतिर पैदल नै आउँदै गरेका सहनीलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले साँझ ५:२० बजेतिर नियन्त्रणमा लिएको हो ।

शरीर खानतलासी गर्दा उनको साथबाट २.४० ग्राम खैरो हेरोइन बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार सहनीलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

त्यस्तै,पथरीशनिश्चरे नगरपालिका–१ का २४ वर्षीय अनिल भट्टराई पक्राउ परेका छन् । घरबाटै लागूऔषध बिक्रीवितरण गरिरहेको विशेष सूचनाका आधारमा प्रहरी मंगलबार साँझ भट्टराईको घरमा पुगेको थियो । खानतलासी गर्ने क्रममा ८ सय ६० मिलिग्राम खैरो हेरोइन भेटिएको डीएसपी दाहालले बताए ।

उनका अनुसार सुत्ने कोठाको खाटमुनि खैरो हेरोइन भेटिएपछि भट्टराईलाई पक्राउ गरिएको छ । पक्राउ परेका सहनी र भट्टराईविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।