सुन प्रकरण : विमानस्थलको भन्सार जाँचपासमा प्रहरीलाई पनि सहभागी गराउने सरकारको तयारी

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीबारेको छानबिन समितिले त्यसको जरामा पुगेर कारबाही र समाधान सुझाउने बताएका छन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सबै निकायका प्रमुखसहित विमानस्थल व्यवस्थापन र सामान निकासी प्रक्रियाबारे अनुगमनका क्रममा उनले यस्तो बताएका हुन्।

वर्तमान सरकारले सुशासन, गुणात्मक आर्थिक सामाजिक विकास र प्रशासनिक सुधारका पक्षमा कुनै कसर बाँकी नराख्ने बताउँदै उनले प्रधानमन्त्री प्रचण्डले त्यही स्पिरिटमा काममा गति दिएको पनि बताए।

श्रेष्ठले विमान अवतरणदेखि यात्रु-कर्मचारीको प्रवेश, तिनीहरूको हाते ब्याग र कार्गो निकासी प्रक्रियासम्मको अनुगमन गरेका छन्।

सुन तस्करीबारे छानबिन गर्न राजश्व अनुसन्धान विभागले समिति बनाएको बताउँदै श्रेष्ठले अहिले सबै निकायले यसै समितिलाई सघाउने बताए।

गृहमन्त्री श्रेष्ठले विमानस्थल सम्बन्धित निकायले एकअर्काको कमजोरी देखाउने भन्दा पनि समन्वयात्मक र एकीकृत भएर काम गर्नुपर्ने पनि बताए।

यो प्रकरणमा आवश्यक परे केन्द्रीय अनुसन्धान ब्युरो र अपराध अनुसन्धान शाखाले पनि सघाउन सक्ने बताएका छन्।

उनले त्यसक्रममा विमानस्थलको भन्सारको जाँचपास प्रक्रियामा प्रहरीलाई पनि सहभागी गराउनेबारेमा सरकारले छलफल गरिरहेको बताएका छन्।

‘हामीले भन्सारका अधिकारीहरुलाई जाँचपासमा प्रहरी चाहिने नचाहिनेबारे सोधेका छौँ’, उनले भने, ‘उहाँहरूबाट प्रहरी राखे राम्रै हुने जवाफ दिनु भएको छ। मन्त्रिपरिषदमा पनि भन्सार जाँचपासमा प्रहरीलाई सहभागी गराउनेबारे छलफल गरेका छौँ। यसमा सरकारले निर्णय लिन्छ।’

मन्त्री श्रेष्ठसँग गृह मन्त्रालयका सचिव सहितका उच्च अधिकारीहरू, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, अध्यागमन विभाग र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लगायत कार्यालयका प्रमुखहरू पनि थिए।

विमानस्थल भन्सारबाट छिरेको १०० केजी सुन बुधबार अपरान्ह राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो। यसले विमानस्थल व्यवस्थापन, सुरक्षा, निकासी र भन्सार प्रक्रियाको त्रुटीको पोल खोलिदिएको थियो।