गठन भएको आठ महिनामै छैटौंपटक सरकार विस्तारको तयारी गर्दै मधेश सरकार, को-को बन्दैछन् मन्त्री ?

काठमाडौं । मधेश सरकार गठन भएको आठ महिनामै मुख्यमन्त्री सरोजकुमार यादवले छैटौं पटक मन्त्रिपरिषद् विस्तार गरी सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।

मुख्यमन्त्री यादवले आफूले सम्हाल्दै आएका गृह, सञ्चार तथा कानून मन्त्रालय र श्रम तथा यातायात मन्त्रालयमा मन्त्री नियुक्तिको सिफारिस गरिसकेका छन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले आजै मन्त्री नियुक्त गर्ने बुझिएको छ । नवनियुक्त मन्त्रीहरुलाई आजै शपथग्रहण गराउने तयारीसमेत पनि गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

स्रोतका अनुसार नेपाली कांग्रेसले गृह, सञ्चार तथा कानून मन्त्रालय र जनमत पार्टीले श्रम तथा यातायात मन्त्रालय पाएका छन् ।

कांग्रेसका सप्तरीबाट निर्वाचित सांसद मो। समिम गृह, सञ्चार तथा कानूनमन्त्रीमा सिफारिस भएका छन् । कांग्रेसले राज्यमन्त्रीमा पठाएका सांसदको नाम भने बाहिरिएको छैन ।

जनमत पार्टीले चन्दन सिंहलाई श्रम तथा यातायातमन्त्री र रञ्जु खंगलाई सोही मन्त्रालयको राज्यमन्त्री बनाउन सिफारिस गरेको स्रोतले जनाएको छ ।

यसअघि जनमतका विनाविभागीय मन्त्री बसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले राजीनामा दिएका थिए । जनमतका संसदीय दलका नेता महेश यादव भने शिक्षा तथा सामाजिक कल्याणमन्त्री छन् ।